२०८१ कात्तिक १९ सोमवार | Monday, Nov 04 2024

सहकारीद्धारा उखु, बेसार र अदुवा उत्पादन गर्दै

Untitled
Untitled
Untitled

काठमाडौं । बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका-२, भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रतिवर्ष १५ देखि २० क्विन्टल उखु बिक्री गर्दै आएको छ ।

यस वर्षको उखु प्रतिकेजी १५ का दरले बिक्री गरिएको सहकारीका अध्यक्ष चुडामणि उपाध्ययले जानकारी दिए । संस्थाले बागलुङ नगरपालिका-४, कुडुँलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसार खेती र बागलुङ नगरपालिका-७, तितौरेमा दुई रोपनी जग्गामा अदुवा खेती गर्दै आएको छ ।

संस्थाले सेयर सदस्यलाई समेत व्यावसायिक उत्पादनमा जोड दिनका लागि सापटमा बेसारको बीउ समेत उपलब्ध गराउँदै आएको सहकारीका कोषाध्यक्ष तथा अगुवा कृषक जग्गन्नाथ सापकोटाले बताए । उनले उत्पादन भइरहेको बेसारलाई बीउका रूपमा सेयर सदस्यलाई सापटी दिइएको छ भने अहिले उत्पादन भएको बेसारलाई खनेपछि बिक्री गर्ने लक्ष्य सहकारीको छ ।

‘गत वर्ष पाँच क्विन्टल बेसार उत्पादन भएको थियो, केही किसानलाई बीउको रूपमा वितरण गरियो, अहिले पानी परेपछि बेसार खन्ने तयारीमा छौं’, सापकोटाले भने ।

उनले पाँच केजी अदुवाको बीउ दिएको कृषकलाई उत्पादनपछि छ केजी फिर्ता गर्नेगरी किसानलाई प्रवद्र्र्धन गरिरहेको बताउँदै सापकोटाले सेयर सदस्य किसानको उत्पादनलाई बजारीकरण समेत गर्न सहयोग गरिरहेको बताए । कोषध्यक्ष सापकोटाका अनुसार सहकारी संस्थाको सेयरपूँजीको ४० प्रतिशतभन्दा बढी लगानी व्यावसायिक उत्पादनमा लगाउने गरी सहकारी अगाडि बढेको छ ।

हाल सहकारीमा सात सय ७३ सेयर सदस्य रहेका छन् भने एक करोड ३३ लाख सेयरपूँजी रहेको छ । सहकारीले २०७५ सालबाट भिमापोखरामा उखुखेती गरेको छ भने दुई वर्षदेखि कुडुँलेमा बेसार र तितौरेमा अदुवा खेती गरिरहेको छ ।

सहकारीले साधारणसभाको अवसरमा सेयर सदस्यलाई तरकारी खेती गर्नका लागि निःशुल्क बीउ वितरण गर्दै आएको छ । सहकारीले कृषिप्रति आकर्षण गराउनका लागि विभिन्न स्थानमा पुगेर कृषि मेला प्रदर्शनी गर्ने कृषि ज्ञान केन्द्रसँग मिलेर धान दिवस मनाउने, सहुलियत मूल्यमा संस्थाबाट नियमित बीउ बिक्री गर्ने र सेयर सदस्यले पालेको पशुको निःशुल्क गोबर परीक्षण र औषधि वितरण समेत गर्दै आएको छ ।

Untitled
Untitled
Untitled