२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

स्ट्रेट अफ हर्मुजको ओमानी क्षेत्रतर्फबाट जहाजहरूलाई बिना अवरोध आवागमन गर्न दिने इरानको प्रस्ताव

Untitled
Untitled
Untitled

एजेन्सी, इरानले अमेरिकासँग जारी वार्ताका क्रममा महत्त्वपूर्ण प्रस्ताव अघि सारेको छ।

अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार यदि द्विपक्षीय सहमति कायम भई द्वन्द्व टर्ने सुनिश्चितता भएमा इरानले स्ट्रेट अफ हर्मुजको ओमानी क्षेत्रतर्फबाट जहाजहरूलाई बिना अवरोध आवागमन गर्न दिने सम्भावना व्यक्त गरेको छ।

हालैको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा अभूतपूर्व अवरोध आएको छ।

उक्त जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास ओसारपसार हुने भएकाले यसको स्थायित्व अन्तर्राष्ट्रिय बजारका लागि अत्यन्त संवेदनशील मानिन्छ।

फेब्रुअरी २८ देखि शुरु भएको तनावका कारण सयौँ तेल ट्यांकरसहित करिब २० हजार समुद्री कामदार खाडी क्षेत्रमा अड्किएका छन्।

अप्रिल ८ देखि दुई साताका लागि युद्धविराम लागू भएको छ, र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यतर्फ उन्मुख रहेको संकेत दिएका छन्।

तथापि, स्ट्रेट अफ हर्मुजको नियन्त्रण र सुरक्षा अझै वार्ताको मुख्य विषय बनेको छ।

उक्त प्रस्तावअनुसार इरानले ओमानतर्फको जलमार्ग प्रयोग गर्ने जहाजहरूलाई अवरोध नगर्ने संकेत दिएको छ।

तर, सम्भावित बारुदी सुरुङ हटाउने वा इजरायलसँग सम्बन्धित जहाजहरूलाई समेत स्वतन्त्र आवागमन दिने विषयमा स्पष्टता आएको छैन।

यस्तो प्रस्ताव केही समयदेखि तयार भइरहे पनि वाशिङ्टनको आधिकारिक प्रतिक्रिया अझै सार्वजनिक भएको छैन।

स्ट्रेट अफ हर्मुज करिब ३४ किलोमिटर चौडाइको संकुचित समुद्री मार्ग हो, जसले खाडी क्षेत्रलाई हिन्द महासागरसँग जोड्दछ।

यो मार्ग ऊर्जा आपूर्ति मात्र नभई मलखाद्यजस्ता अत्यावश्यक वस्तुहरूको ढुवानीका लागि पनि प्रमुख मानिन्छ।

यसअघि इरानले जहाजबाट शुल्क असुल्ने वा जलडमरूमाथि थप नियन्त्रण स्थापित गर्ने जस्ता प्रस्तावहरू अघि सारेको थियो, जसको इन्टरनेशनल म्यारीटाइम अर्गनाइजेशन लगायत अन्तर्राष्ट्रिय निकायहरूले विरोध गरेका थिए। नयाँ प्रस्तावलाई इरानको केही हदसम्म नरम र वार्तामुखी संकेतको रूपमा हेरिएको छ।

यद्यपि, यो प्रस्ताव पूर्ण रूपमा कार्यान्वयनमा आउने वा नआउने विषय वार्ताको परिणाममा निर्भर रहनेछ।

Untitled
Untitled
Untitled