एजेन्सी, हिन्द महासागर क्षेत्रमा श्रीलंकाको तट नजिकै इरानको नौसेनासम्बन्धी जहाज “इरिस डेना (Iris Dena)” डुब्दा कम्तीमा ८० जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकाका उप–परराष्ट्रमन्त्रीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा उक्त जहाज डुब्दा कम्तीमा ८० जनाले ज्यान गुमाएका हुन्।
श्रीलंकाको नौसेनाले यसअघि जहाजबाट आपतकालीन सन्देश (डिस्ट्रेस कल) प्राप्त भएपछि उद्धार अभियान सञ्चालन गरी ३२ जनालाई जीवित उद्धार गरिएको जनाएको थियो।
नौसेनाका एक प्रवक्ताका अनुसार जहाजमा रहेका कागजातका आधारमा उक्त जहाजमा करिब १८० जना सवार रहेको अनुमान गरिएको छ।
यदि श्रीलंकाली अधिकारीहरूले दिएको तथ्यांक सही भएमा अझै ६० भन्दा बढी व्यक्ति बेपत्ता रहेको आशंका गरिएको छ।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ भने जहाज किन र कसरी डुब्यो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।


































