एजेन्सी, क्यानाडाको ब्रिटिस कोलम्बिया प्रान्तको एक सहरमा रहेको उच्च माध्यमिक विद्यालय र एक आवासीय घरमा भएको गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
२५ भन्दा बढी घाइते भएका छन्। यो क्यानाडामा दशकौँयता भएको सर्वाधिक घातक गोलीकाण्ड हो।
प्रहरीका अनुसार स्थानीय समयअनुसार मंगलबार दिउँसो करिब १स्२० बजे टम्बलर रिज सहरस्थित विद्यालयमा एक आक्रमणकारीले गोली चलाएको सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो।
घटनास्थलमा ६ जना मृत भेटिएका थिए भने दर्जनौँ घाइते भएका थिए।
रोयल क्यानाडियन माउन्टेड पुलिस (आरसीएमपी) का अनुसार अस्पताल लैजाँदै गर्दा अर्का एक व्यक्तिको मृत्यु भएको थियो।
प्रहरीले घटनासँग सम्बन्धित ठानिएको नजिकैको एक घरमा थप दुई जनाको शव पनि फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार आक्रमणकारीको आशंका गरिएको व्यक्ति विद्यालयमै मृत अवस्थामा भेटिएका छन्।
उनको मृत्यु आत्महत्या जस्तो देखिने चोटका कारण भएको प्रहरीले जनाएको छ। आपतकालीन सूचनामा आक्रमणकारीलाई खैरो कपाल भएकी, गाउन लगाएकी महिला भएको उल्लेख गरिएको छ।
घटनामा गम्भीर घाइते दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। करिब २५ जनालाई सामान्य चोटपटक लागेको जनाइएको छ।
प्रान्तीय वेबसाइटका अनुसार टम्बलर रिज सेकेन्डरी स्कूलमा कक्षा ७ देखि १२ सम्मका १ सय ७५ विद्यार्थी अध्ययनरत छन्।
नर्थ डिस्ट्रिक्ट कमाण्डर सुपरिटेन्डेन्ट केन फ्लोयडले गोलीकाण्डको कारण अझै स्पष्ट नभएको बताएका छन्।
मृत्यु हुनेमध्ये कति जना बालबालिका थिए वा उनीहरूको आक्रमणकारीसँग कस्तो सम्बन्ध थियो भन्ने खुलेको छैन।
प्रहरीले आक्रमणकारीको पहिचान गरिसकेको भए पनि गोपनीयताका कारण विवरण सार्वजनिक नगर्ने जनाएको छ।
आक्रमणकारी कुन उमेर समूहको हो भन्ने समेत प्रहरीले खुलाएको छैन। पश्चिमी क्यानाडाको रकी पर्वतको फेदीमा अवस्थित टम्बलर रिज करिब २,४०० जनसंख्या भएको सानो सहर हो, जुन अमेरिकी सीमाबाट करिब ६८० किलोमिटर टाढा पर्छ।
प्रहरीले सार्वजनिक सुरक्षामा थप खतरा नरहेको जनाएको छ। यसअघि नागरिकलाई घरमै सुरक्षित बस्न आग्रह गर्दै चेतावनी जारी गरिएको थियो।
क्यानाडामा यस्ता सामूहिक गोलीकाण्ड अत्यन्त दुर्लभ मानिन्छन्, त्यहाँ अमेरिकाको तुलनामा बन्दुकसम्बन्धी कानुन निकै कडा छन्।
स्मल आर्म्स रिसर्च परियोजनाका अनुसार अमेरिकामा प्रत्येक १०० जनामा १२१ वटा बन्दुक रहेका छन् भने क्यानाडामा यो संख्या अनुमानित ३५ मात्रै छ।
यो स्तरमा विद्यालयमा गोलीकाण्ड प्रायः सुन्न पाइँदैन। सन् १९८९ मा मोन्ट्रियलस्थित एकोल पोलिटेक्निकमा भएको गोलीकाण्डमा एक बन्दुकधारीले १४ महिलाको हत्या गरेको थियो।
उक्त घटनापछि महिलाविरुद्ध हिंसाबारे राष्ट्रिय बहस सुरु भएको थियो र बन्दुकसम्बन्धी कानुन थप कडा बनाइएको थियो।
ब्रिटिस कोलम्बियाका मुख्यमन्त्री डेभिड एबीले यस घटनालाई विनाशकारी र कल्पनै गर्न नसकिने दुःखद घटना भनेका छन्।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्ट गर्दै हिंसात्मक घटनामा ज्यान गुमाउनेका परिवार र आफन्तप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरेका छन्।


































