पोखरा : अनेसास गण्डकी प्रदेश समितिको गठन सम्पन्न भएको छ । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा भएको अनेसास गण्डकी प्रदेश समितिको गठन कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । प्राज्ञ तथा वरिष्ठ लोक गायिका हरिदेवी कोईराला, अनेसास केन्द्रीय समिति सचिव रविन शर्मा, सदस्य सुमन वर्षा, उपन्यासकार बरिष्ठ पत्रकार बद्रिबिनोद प्रतीक लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।
सो कार्यक्रममा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष गीतकार तथा साहित्यकार महेश्वर पन्तले गजल गायन गरि माहोललाई गजलमय तथा संगीतमय बनाएका थिए । त्यस्तै पोर्चुगल च्याप्टर महासचिव एन.बी.अन्जान, कतार च्याप्टर पूर्व अध्यक्ष प्रेमप्रसाद भट्टरार्इ, अनेसास पूर्व महासचिव सुरेन उप्रेती, अनेसास पूर्व महासचिव ऋषभदेव घिमिरे, कमला रिसाल लगायतले लेखरचनाका साथ शुभकामना व्यक्त गरेका थिए ।
गण्डकी प्रदेश समितिमा देवेन्द्र केसी “देवु” अध्यक्ष दुर्गा न्यौपाने उपाध्यक्ष असफल गौतम महासचिव कल्याण पन्त सचिव कृष्ण रानाभाट कोषाध्यक्ष र सरस्वती शर्मा “जिज्ञासु” सदस्य चयन भएकाछन् । उक्त कार्यक्रममा देवेन्द्र केसीका दुई नवीनतम कृति “दृढ संकल्प” मुक्तक संग्रह र देवु भाग ३ गीति एल्बमको विमोचन गरिएको थियो । विमोचन कार्यक्रमको प्रमुख अतिथि सरुभक्त श्रेष्ठ, विशेष अतिथि हरिदेवी कोईराला र अन्य मञ्चासिन अतिथिहरूले गरेका थिए । नवगठित समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरी गोपनियताको सपथ ग्रहण समेत गराइएको थियो ।
यस कार्यक्रमका अवसरमा अनेसास नेपाल च्याप्टरका सदस्य तथा पुतली बजार प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा शाह “बाबा” लाई अनेसास नेपाल च्याप्टरका तर्फबाट बधाई तथा शुभकामना पत्र हस्तान्तरण गरि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन अनेसास नेपाल च्याप्टर महासचिव रन्जना निरौला र गण्डकी समिती महासचिव असफल गौतमले गरेका थिए भने अनेसास नेपाल च्याप्टर उपाध्यक्ष मंजीला अनिलले सर्म्पूणलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पुर्व कुलपति सरुभक्त श्रेष्ठले परदेश र घरदेशका साहित्य श्रष्टाहरुले मिलेर विगतमा पनि गर्दै आएको र अहिले पनि अझ बढि शसक्त रुपमा नेपालको भाषा संस्कृती तथा सिर्जना विश्वसामु पुर्याउन र विश्वको परिवेश नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका अनेसासले खेल्दै आएको धारणा व्यक्त गर्दै कार्यक्रमको सफलता तथा श्रष्टाहरु कलाकारहरुलाई बधाई तथा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।


































