२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भारतको खटिमामा कारले स्कुटरलाई ठोक्किँदा एकै परिवारका चार नेपालीको मृत्यु

Untitled
Untitled
Untitled

कञ्चनपुर, कञ्चनपुरको बनबासानजिकै पर्ने भारतीय बजार खटिमास्थित चकरपुरमा कारले स्कुटरलाई ठक्कर दिँदा ४ जना नेपालीको मृत्यु भएको छ।

मृतक सबै एकै परिवारका हुन्। शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार कञ्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारीहरू नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो।

कारले ठक्कर दिएका स्कुटर

उनीहरू पूजाका लागि नेपाल फर्किरहेका थिए। पूजापाठपछि स्कुटरमा मुडेली फर्किरहेका उनीहरूलाई तिव्र गतिमा आएको कारले उनीहरू सवार दुवै स्कुटरलाई ठक्कर दिएको थियो।

एक स्कुटरमा नमबहादुर र उनकी श्रीमती र अर्कोमा दुई बुहारी सवार रहेकोमा कारले दुवैलाई ठक्कर दिएको हो।

दुर्घटनामा परेर गम्भिर घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा ज्यान गुमाएको नरबहादुरको परिवार

‘उहाँहरू कामको शिलशिलामा खटिमामा बस्थे, उल्टाखाममा पनि जमिन छ,’ भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष उत्तमप्रसाद भट्टले भने, आउजाउ गरिरहन्थे।’

एकै परिवारका चार जनाको मृत्यु भएपछि चन्द परिवार शोकमग्न छ। मृतक नेमबहादुरका छोरा ललितको पनि अघिल्लो वर्ष सडक दुर्घटनामा परेर मृत्यु भएको थियो।

नेमबहादुरका छोराहरू दीपक र प्रेम अहिले भारतको चेन्नईमा काम गर्छन्। घटनाबारे जानकारी पाएपछि उनीहरू खटिमा फर्किरहेका छन्।

मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। छोराहरू खटिमा पुगेपछि हिन्दूू परम्पराअनुसार शारदा घाटमा अन्तिम संस्कार गरिनेछ।

 

Untitled
Untitled
Untitled