२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अमेरिकाबाट फिर्ता गरिएकाहरू, फेरि तनावमा पर्न चाहँदैनन्

Untitled
Untitled
Untitled

काठमाडौ । अवैध रूपमा अमेरिकामा बसोबास गर्ने र त्यहाँको कानुन उल्लङ्घन गरेपछि निष्कासित भई नेपाल फर्कने नेपालीको आँकडा बढ्दै छ । अमेरिकाबाट आइतबार राति ३७ जना निष्कासित भएर फर्केसँगै यो सङ्ख्या थप बढोत्तरी भएको हो । जति पटक फिर्ता गरिन्छन्, त्यति नै पटक उनीहरूलाई अध्यागमन विभागले मानव बेचबिखन ब्युरोको जिम्मा लगाउने गरेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो । आइतबार राति फर्काइएका ३७ जनालाई पनि त्यसै गरी ब्युरोको जिम्मा लगाइएको छ ।

सन् २०२५ लागेसँगै यसरी निष्कासित भएर स्वदेश फर्काएइको सङ्ख्या १७७ जना पुगेको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिनुभयो । अमेरिका सरकारले चार्टर विमानमार्फत आइतबार फिर्ता पठाएकामा ३२ जना पुरुष र पाँच जना महिला छन् । प्रवक्ता न्यौपानेले भन्नुभयो, “त्यसरी फिर्ता भएकाको सङ्ख्यामध्ये आइतबारको सङ्ख्या हालसम्मकै उच्च हो, नत्र एक वा दुई जना विभिन्न समयमा फिर्ता पठाइएका थिए ।” चार्टर विमानमार्फत नै नेपाली फर्काएको यो दोस्रो पटक हो । यसअघि फागुन २१ गते एकै दिन नौ जना नेपालीलाई फिर्ता पठाइएको थियो ।

सन् २०२५ सुरु भएसँगै जनवरी २० देखि गत मे महिनाभित्र यसरी फर्काइएका १४० जना थिए । यसरी फर्काइएकामा जनवरी महिनामा छ जना, फेबु्रअरीमा २० जना, मार्चमा ३० जना, अप्रिलमा २६ जना र मे महिनामा ५८ जना रहेका छन् । त्यसअघि पनि कानुन उल्लङ्घन गरेकाहरू निष्कासनमा पर्दै आएका थिए । अध्यागमनको पुरानो तथ्यले पनि त्यो बताउँछ, जस अनुसार सन् २०२१ मा ३५ जना, सन् २०२२ मा २२ जना, सन् २०२३ मा २४ जना र २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट निष्कासनमा परेका थिए ।

अमेरिकाको अध्यागमन तथा राष्ट्रियता कानुनले अवैध रूपमा बस्नेहरू कानुन उल्लङ्घनकर्ता हुने प्रस्ट्याएको छ । त्यहाँको कानुन अनुसार पहिले आफ्नो अवस्था आफैँ मूल्याङ्कन गरेर आफैँ अमेरिका छाड्ने अवसर दिइन्छ, त्यसलाई ‘सेल्फ डिपोर्ट’ (आफैं फर्कने) भनिएको छ ।

फर्काइएका धेरै, मुद्दा न्यून

अमेरिकी सरकारले यसरी नेपाल फिर्ता पठाएकाहरू अधिकांश अवैध रूपमा त्यहाँ पुगेको पाइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरले सबैलाई ब्युरोमा ल्याएर सोधपुछ गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अधिकांश चिनजानका मानिसबाट अवैध बाटो हुँदै अमेरिका पुगेका छन्, जसमा कतिपयको घरखेत नै बन्धकी राखेर पनि गएको भेटिएका छन् ।” त्यसरी जानु अवैध मात्र होइन । मानव बेचबिखनसँग जोडिएको मुद्दा पनि हो तर अहिलेसम्म फर्केर आएकाहरूले उनीहरूलाई लैजानेविरुद्ध मुद्दा दर्ता गराउन मानेका छैनन् ।

कुँवरले थप्नुभयो, “आफूखुसी जानाजान अवैध बाटो भएर अमेरिका पुगेको अधिकांशले स्वीकार गर्छन् । त्यसैले उनीहरू कुनै मुद्दा दर्ता गराउन चाहनुहुन्न ।” कसरी गएको भन्ने सवालको जवाफ दिने गरे पनि लैजानेविरुद्ध मुद्दा गरेर फेरि तनावमा पर्न नचाहने जवाफ उनीहरूले ब्युरोलाई दिने गरेका छन् । अहिलेसम्म कुनै मुद्दा नै नपरेको भने होइन । एकाधले उजुरी दर्ता गराएकाले अदालतमा मुद्दा पनि चलेका छन् तर अवैध रूपमा अमेरिका लैजानेहरू अहिलेसम्म पक्राउ पर्न नसकेको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार अवैध रूपमा कुनै पनि देश जानु भनेको मानव बेचबिखनमा पर्नु हो । त्यसैले कसैले पनि त्यस्तो यात्रा नगर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । समुदायलाई सचेत बनाउन सामुदायिक अन्तर्क्रिया, अवैध रूपमा जाँदा हुने हानिनोक्सानीबारे जानकारी दिने, सूचनामूलक पोस्टर पम्प्लेट त्रिभुवन विमानस्थलका विभिन्न स्थानमा राखेर सजग गराउने, बाहिर जान लागेकालाई अध्यागमनमा राखेर सम्झाउनेलगायतका कार्य ब्युरोले गर्दै आएको प्रवक्ता नरेन्द्र कुँवर बताउनुहुन्छ ।

Untitled
Untitled
Untitled