२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

१२ देशका १७ नाटकको सहभागितामा अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुरू

Untitled
Untitled
Untitled

काठमाण्डू, १२ देशका एक सयभन्दा धेरै अन्तर्राष्ट्रिय कलाकारले १७ नाटक मञ्चन गर्ने गरी राजधानीमा बुधबारबाट तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) २०२५ शुरू भएको छ ।

१२ देश, १७ नाटक, २ वार्ता, ४ विमर्श, ३ कार्यशाला, ३ मञ्चमा कविता, ३ रैथाने संगीत, ३ सांस्कृतिक प्रस्तुति अनि प्रत्यक्ष चित्रकला तथा प्रदर्शन कला महोत्सवको विशेषता हुनेछ ।

थापागाउँस्थित मण्डला थिएटरबाट शुरू भएको नाट्य महोत्सव एक सातासम्म चल्नेछ भने पोखरा, चितवन र वेलबारीसम्म पुग्नेछ ।

प्रमुख अतिथि एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा पोखरेलले नेपाली मौलिक बाजा दमाहा बजाएर शुभारम्भ गरे ।

त्यस अवसरमा बाद्यवादकको टोलीले रैथाने बाजाको प्रस्तुति दिएका थिए ।

पोखरेलले अन्तर्राष्ट्रिय कलाकारको सहभागितामा हुने यस प्रकारको महोत्सव प्रतिष्ठाले गर्नुपर्ने भएपनि कार्यालय सञ्चालनमै सकिने गरी प्राप्त हुने बजेटबाट सम्भव नभएको बताए ।

‘देशलाई चिनाउने भनेकै कला संस्कृतिले हो । पर्यटक हिमाल र पहाडमात्र हेर्न आउँदैनन्, कला संस्कृति पनि हेर्न आउँछन् ।

यस कारण पर्यटन र कला संस्कृतिलाई पनि उत्तिकै महत्वका साथ सँगसँगै लैजानुपर्छ । तर, यस्तो कार्यक्रम गर्नका लागि प्रतिष्ठानसँग बजेटकै अभाव छ’ –उनको भनाइ थियो ।

विशेष अतिथि तथा जर्मन विकास सेवा संस्थाकी प्रतिनिधि मालिन फ्रेडार्टले सामाजिक रूपान्तरणका लागि नाटकका माध्यमबाट विभिन्न देशका कला संस्कृति र ज्ञान एकआपसामा साटासाट गर्नु निकै राम्रो विषय भएको चर्चा गरे ।

महोत्सव निर्देशक तथा अभिनेता दयाहाङ राईले नेपाली नाट्य क्षेत्रका अग्रज, समकालीन र नव कलाकारलाई समेटेर आफ्नो अनुभव बाँड्ने तथा अग्रजबाट सिकेका ज्ञान र सीप नयाँ पुस्तालाई बाँड्ने हेतुले महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवको पहिलो दिन बुधबार पशुपति राईद्वारा निर्देशित नाटक उम्लँदो खरानी र लेम्लेम्मा प्रदर्शन गरियो भने साँझ कविताको रैथाने रंग नामक कविता वाचन कार्यक्रम भएको छ ।

जहाँ विप्लप प्रतीकलगायत करिब दुई दर्जन कविले कविता वाचन गरे । त्यस्तै, किरण नेपालीको संयोजकत्वमा फ्ल्कट्रोनिक्स नामक सांगीतिक प्रस्तुति प्रस्तुत गरियो ।

महोत्सवमा नेपाल, जापान, स्कटल्यान्ड, बेलायत, चीन, भारत, जर्मनी, ट्युनिसिया, इरान, लिथुआनिया, स्पेन र नर्वेका कलाकारले नाटक प्रस्तुत गर्नेछन् ।

महोत्सव काठमाडौंको मण्डला थिएटरसहित पोखरा, चितवन र वेलबारीमा पनि हुने रंगकर्मी, अभिनेता तथा मण्डला थिएटरका सञ्चालक दयाहाङ राईले जानकारी गराए ।

Untitled
Untitled
Untitled