नवलपरासी । चिसो मौसमको बृद्धिसँगै तराइ र मध्य तराइका विभिन्न ठाउँमा बढेको सितलहरले जनजिवन प्रभावित पारिरहेको थियो । पश्चिम नवलपरासीको विभिन्न स्थानका विद्यालयहरुमा समेत जाडोले बालबालिकाहरु प्रभावित भएको खबर पाएपछि सौर्य विक्रम खड्का स्मृति फाउण्डेसनकी अध्यक्ष प्रतिमा सिंहले राहतका लागि न्यानो कपडा वितरणको योजना बनाईन ।
काठमाडौंमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल प्रतिमा विगत बर्षहरुदेखि नै असहाय महिला तथा बालबालिकाका लागि सहयोगमा क्रियाशिल छन् । प्रतिमाले यस पटक भने विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा लिएर पश्चिम नवलपरासीको जीतपुर प्राथामिक बिद्यालयमा पुगेको बताईन ।
नवलपरासीको बर्दघाट ५ बण्डाखोलामा रहेको जीतपुर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरणको लागि सहजिकरण गरी वातावरण तयार पारिदिने वडाध्यक्ष विमला गुरूङ ले स्थानीय समन्वयको भूमिका निर्वाह गर्नुभयो । कार्यक्रममा अध्यक्ष सिंहले आफ्नो जेठो छोरा स्व. सौर्य विक्रम खड्काको सम्झनामा फाउण्डेसन स्थापना गरी विभिन्न सामाजिक कार्य गर्दै आएको समेत जानकारी गराईन ।
विद्यालयका ८० विद्यार्थीहरुका लागि न्यानो स्वीटर र खाजाका लागि विस्कुट वितरण गरिएको विद्यालय ब्यवस्थापनका अध्यक्ष गोविन्द चौधरीले जानकारी दिएका छन् । कार्यक्रममा स्थानीय सामाजिक अभियन्ता कृष्णबहादुर सिंह, अरुण सिंह, बिद्यालयका प्रधानाध्यापक दिपक पोखरेल, बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य उत्तमध्वज के.शि. लगायतले फाउण्डेसनले गरेको सामजिक कार्यको चर्चा गरेका थिए । सहयोगी संस्थाले गरेको कार्यको प्रशंसा गर्दै प्रधानाध्यापक पोखरेलले संस्थालाई धन्यवाद दिए ।