तपाईँहरूसमक्ष मैले राख्न चाहेको कुरा एकदमै सरल छ । यो कुरा कुनै देशको होइन, यो तपाईँकै कुरा हो । तपाईँजस्ता हरेक व्यक्तिको हो । तपाईँभित्र यो श्वासरूपी आशिर्वाद आइरहेको अनि गइरहेको छ । सबैभन्दा ठूलो कुरा के हो भने हरेक श्वासमा अटुट शान्ति लुकेको छ ! हरेक श्वासमा ती सृष्टिकर्ताको झलक लुकेको छ अनि त्यो सबैभित्र छ ।
तपाईँ यो संसारमा जन्मेर आउनुभयो । उपहारका रूपमा पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन प्राप्त भयो । दिनसँगसँगै हप्ता भयो । हप्तापछि महिना भयो, महिना हुँदै वर्ष हुन पुग्यो । तर, यो धनमाल, यो आनन्द, यो परमानन्दभित्रको भित्रै रहे । त्यसपछि बाहिरको श्वास बाहिरै अनि भित्रको श्वास पनि बाहिरै हुने दिन आयो । सबै कुरा बाहिर भएपछि आउने–जाने क्रम रोकियो । यो संसारमा खाली हात आउनुभएको थियो अनि खाली हात नै यो संसारबाट जानुभयो ।
तथापि, म तपाईँलाई खाली हात त आउनुभएको थियो तर खाली हात जानुपर्ने आवश्यकता छैैन भनेर बताउँदै छु । यदि भित्रको कुरालाई बुझ्नुभयो, ती आनन्दलाई अनुभव गर्नुभयो भने तपाईँले खाली हात जानुपर्नेछैन । म समाजको कुरा गरिरहेको छैन । म शहरको कुरा गरिरहेको छैन ।
म तपाईँको जीवनमा शान्तिको दियो बलोस् भनेर हरेक व्यक्तिका बारेमा कुरा गरिरहेको छु । तपाईँको यो हृदयरूपी घरमा वर्षौँदेखि अँध्यारोले ढाकिदिएको छ । यो हृदयमा शान्तिको दियो बलोस् । तपाईँले पनि आपूmलाई के प्राप्त भएको छ भनेर देख्न सक्नुहोस् । दियो बलेपछि अँध्यारो भाग्छ अनि उज्यालो आउनेछ । त्यस दिन तपाईँले देखेर भन्नुहुनेछ, ‘वाह ! मेरो जीवनमा पनि आनन्दको दियो बल्यो ।’
यो अनुभवको कुरा हो । म ठाउँ–ठाउँमा गएर मानिसहरूसमक्ष यो कुरा गर्ने गर्छु– तपाईँलाई जुन चीजको खोजी छ त्यो तपाईँभित्रै छ । यो एकदमै आशापूर्ण कुरा हो । यो कुरालाई कहिल्यै पनि नबिर्सनुहोस् ! तपाईँले खोजिरहनुभएको शान्ति तपाईँबाट टाढा छैन । त्यो तपाईँभित्र छ, थियो अनि तपाईँ जीवित रहेसम्म तपाईँभित्रै रहनेछ ।
कतिपय मानिसहरू चमत्कार हेर्न चाहन्छन् तर उनीहरूलाई वास्तविक चमत्कार के हो भन्ने कुरा नै थाहा छैन । यदि तपाईँ वास्तविक चमत्कारलाई हेर्न चाहनुहुन्छ भने यो श्वासलाई हेर्नुहोस् । यही हो वास्तविक चमत्कार ! यसलाई संसारको धनसम्पत्तिले किन्न सकिँदैन । यो श्वासलाई बुझ्ने कोशिश गर्नुहोस् । आफ्नो जीवनलाई बुझ्ने कोशिश गर्नुहोस् । आज तपाईँ जीवित हुनुहुन्छ अनि जीवित हुनुको वास्तविक अर्थ के हो ? यसको अर्थ यो श्वास तपाईँभित्र आयो अनि फेरि गयो ।
एकदिन तपाईँ यो श्वासका लागि तड्पिनुपर्ने दिन पनि आउनेछ । यो आउँछ, जान्छ अनि फेरि कहिल्यै पनि आउँदैन । जीवनमा यस्तै हुन्छ । यो संसारमा श्वासभन्दा मूल्यवान् अरू कुनै चीजै छैन । चाहे करोडपति हुन् या भिखारी, शिक्षित या अशिक्षित सारा दुनियाँको समस्या योसँगै समाप्त हुनेछ । यदि यो श्वासलाई बुझ्नुभएन भने यो प्राप्त भएको अनमोल उपहार पनि हातबाट फुत्कनेछ ।
यसर्थ वास्तविक चमत्कारलाई हेर्न चाहनुहुन्छ भने आपूmभित्र आफ्नो हृदयमा ध्यान दिनुहोस् । यो चमत्कार बाहिर प्राप्त हुँदैन, किनभने यो त भित्र भइरहेको चमत्कार हो । जसको तपाईँलाई खोजी छ, जुन सच्चा साथीको तपाईँलाई खोजी छ, जो सबैका साथी हुन् नि, ती मित्र तपाईँभित्र छन् । चाहे सबै कुरा समाप्त भए पनि उनले कसैसँग शत्रुता देखाउँदैनन् ।
मानिस त एउटा त्यस्तो यन्त्र हो जसको कण–कणमा एउटै याचना छ । त्यो ‘जीवनमा आनन्द र सन्तुष्टि प्राप्त गर’ भन्ने याचना हो । अर्थात् त्यो सुख, चैन अनि परम आनन्दलाई अनुभव गर्न सक्नुहोस् । यो मानिसको जुनीमा राखिएको चीज अनन्त छ, सुखमय अनि आनन्ददायक छ । त्यस चीजलाई चिन्नुहोस् । त्यस चीजलाई नचिनेसम्म तपाईँले यो जीवनलाई सफलीभूत तुल्याउन सक्नुहुन्न ।
सबैको हृदयमा ती सृष्टिकर्ता विराजमान छन् तर सबै बाहिर दगुरिरहेका छन् । त्यही दौडलाई भित्रतिर लगाउने कुरा हो । भित्रतिर दौडन शुरु गरेपछि उनी स्वयंले हामीलाई बोलाउनेछन् । किनभने, हृदय त्यहाँ छ र हृदयलाई उनको तिर्खा लागेको छ । त्यो तिर्खालाई मेट्ने विधि के हो ? म त्यही विधिलाई ठाउँ–ठाउँमा गएर मानिसहरूसमक्ष बताउने गर्छु । ती सृष्टिकर्ताले तपाईँकै प्रतीक्षा गरिरहेका छन् । तिनलाई आफ्नो मालिक बनाउनुहोस् । उनको सेवा गर्नुहोस्, त्यसपछि तपाईँको जीवनमा पनि सुख र आनन्दको वर्षा हुनेछ ।
हामी सबैको मनोकामना हुन्छ । एउटा सानो उदाहरण छ । एकजना मानिस थिए । उनी बिहानीको समयमा अन्तर्वार्ता दिनका लागि आफ्नो साइकलमा निस्के । अर्का दोस्रोचाहिँ व्यक्तिले कसैको साइकलको टायर पङ्क्चर भएमा त्यसलाई मर्मत गर्ने भनेर पसल खोलेका हुन्छन् । जागिरका लागि अन्तर्वार्ता दिन गइरहेका व्यक्तिले सृष्टिकर्तासँग भन्छन्, ‘हे भगवान् ! मेरो टायर पङ्क्चर नहोओस् । नत्र भने त ढिलो हुनेछ । मैले जागिर नपाउन सक्छु ।’
साइकल पसलेले पनि सृष्टिकर्तासँग प्रार्थना गर्छन्, ‘हे भगवान् ! धेरै समयअघिदेखि अहिलेसम्म कसैको टायर पङ्क्चर भएको छैन । एक–दुईवटा टायर पङ्क्चर गराइदिनुहोस् । मेरो आजको खानाको जोहो हुन्थ्यो ।’ अब ती सृष्टिकर्ताले कसको कुरा सुन्ने ? हाम्रो कुरा वा उनको कुरा सुन्ने ? हामी बिर्सन्छौँ अनि आफ्नो मनोकामनामा बहकिन्छौँ ।
दुनियाँको ज्ञानका बारेमा त हामीलाई थाहा छ तर हाम्रै बारेमा बताइने ज्ञानका बारेमा हामीलाई थाहा छैन । तपाईंको सन्दुक (बाकस) मा दुई हजारजना मानिसको कोठाको चाबी छ तर तपाईंसँग आफ्नै बाकसको चाबी छैन । दुई हजारजनाको चाबी हुनु र नहुनुको फाइदा के नै भयो र ! आफ्नै बाकसलाई त खोल्न सक्नुहुन्न ।
आफ्नो बाकसको चाबी पनि त हुनुपर्छ । आफ्नो ताल्चा पनि त खुल्नुपर्छ । दुनियाँका बारेमा ज्ञान छ तर आफ्नै बारेमा ज्ञान छैन भने के फाइदा भयो र ? दुनियाँको सेवा त गर्नुहुन्छ, हरेक दिन गरिरहनुहुन्छ तर तपाईंभित्रका दिव्य चीजको पनि त सेवा गर्नुपर्छ ! यसको अर्थ हामीले दैनिकरूपमा गरिरहेको कामलाई बन्द गरिदिनुहोस् भनेको पनि होइन । केही छैन, त्यो काम पनि गर्नुहोस् । पत्रपत्रिका पढ्नुमा कुनै खराबी छैन । टेलिभिजन नहेर्नुहोस् भन्न खोजेको पनि होइन ।
तथापि, आफ्ना बारेमा पनि जान्नुहोस् अनि अनुभव गर्नुहोस् । यथार्थमा हामीले अनुभव गर्न नसकेको कुरालाई केवल भनाइका आधारमा मात्र बुझ्यौँ भने त त्यो चीज अपूरै रहन्छ । अनुभवको कुरा कस्तो हो भने भोको मान्छेको भोक शब्दले मेटिँदैन, भोजन ग्रहण गर्नै पर्छ ।
तपाईं जीवित रहुन्जेल यी सबै कुरा सम्भव हुन्छन् । दुःख पनि हुन्छ, सुख पनि हुन्छ । हाँस्नु पनि हुन्छ र रुनु पनि हुन्छ । कुरा राम्रो पनि हुन्छ अनि नराम्रो पनि हुन्छ । नातागोता पनि हुन्छन् । आफन्तहरूले पनि दुःख दिन्छन् । कतिपय अवस्थामा छिमेकीले हैरान पार्छन् । कतिपय अवस्थामा हामीले छिमेकीलाई दुःख दिइरहेका हुन्छौँ । यी सबै कुरा भइरहेका हुन्छन् । युवावर्गले जब तीव्र गतिमा कार चलाइरहेका हुन्छन् नि ! त्यतिखेर प्रहरीले समात्लान् कि भन्ने डर रहिरहन्छ । तर, हामी जुन दुःख, झन्झट आदिबाट बच्ने कोशिश गरिरहन्छौँ नि ! एकदिन यी सबै कुरा आफैँ बन्द हुन्छन् ।
कुनै डर छैन । कुनै कार चलाउनुपर्ने छैन । कोही आफन्त हुँदैनन्, कोही केही छैन । सबै कुरा समाप्त हुनेछ । हामी बिहानदेखि बेलुकासम्म कति चिन्ता बोकेर हिँडेका हुन्छौँ ! यो कुराको चिन्ता छ, त्यो कुराको चिन्ता छ । चिन्ताबाट जोगिनका लागि हामी के–के चाहिँ गर्दैनौँ र ! तथापि, एउटा त्यस्तो समय पनि आउनेछ त्यो समयमा हाम्रा यी सारा चिन्ताहरू आफैँ बन्द हुनेछन् । सबै समाप्त हुनेछन् ।
यदि शरीर नै बाँकी रहेन भने कस्ता नातागोता बाँकी रहन्छन् र ! कसले हैरान पार्छ ? कसैले नराम्रो भने पनि केही हुनेछैन ? हामी जुन यी सारा कुराका पछि दगुरिरहेका छौँ नि ! जसलाई हामी झन्झट मानिरहेका हुन्छौँ– एकदिन यो कुरा आपैmँ सकिनेछ र यस्तो घटना सबै मान्छेका लागि घट्नेछ । अर्को जन्ममा स्वर्ग जान पाइयोस् भनेर मानिसहरू कहाँ–कहाँ पुग्छन् । के–के गर्नलाई बाँकी राख्छन् र ! यो मनले चाहना राख्छ ।
तपाईँ जीवित रहेकै अवस्थामा यदि कसैले ‘तपाईं स्वर्ग जान चाहनुहुन्छ’ भनेर सोध्यो भने आफ्नो शिर हल्लाउन सक्नुहुन्छ । तथापि, जब अन्तिम दिन आउनेछ नि ! त्यस बेलामा ‘तपाईं स्वर्ग जान चाहनुहुन्छ’ भनेर सोधे पनि आफ्नो शिर हल्लाउने क्षमता हुँदैन । न त हुन्छ भन्न सक्नुहुन्छ, न हुन्न भन्न सक्नुहुन्छ । सोच्नुपर्ने कुरा के छ भने, हामी जीवित रहेकाले नै यी सबै कुरा सम्भव भइरहेका छन् । तथापि, यसका अतिरिक्त पनि यो संसारमा हरेक चीज सधैँ बदलिरहेको हुन्छ । कुनै पनि चीज स्थायी हुँदैन । न पृथ्वी स्थायी छ, न सूर्य स्थायी छ, न त चन्द्रमा नै स्थायी छ । सबै चीज बदलिरहेका छन् ।
सन्त–महात्माहरूले पनि सत्यताका बारेमा बताएका छन् । सत्यता एकदमै सुन्दर छ । वास्तवमा दिमागले गर्ने गरेको कल्पना आपैmँमा राम्रो हुँदैन । तथापि, हामी त यही दिमागको कल्पनालाई सबैभन्दा उत्तम मान्छौँ । सत्यतालाई त हामी देख्नै सक्दैनौँ, किनभने यति घोर अन्धकारका कारण हामीले देख्नै सक्दैनौँ । यसर्थ ज्ञानको उज्यालो आवश्यक छ । त्यो दियोले हृदयलाई छोपेको अँध्यारोलाई हटाइदेओस् । यो अन्धकारलाई हटाउनका लागि मभित्र रहेको ज्ञानरूपी दियोलाई हजुरले बालिदिनुहोस् भन्ने प्रार्थना हुनुपर्छ ।
यदि मेरो जीवनमा प्रकाश प्राप्त भएमा मेरो खोजीमा रहेको त्यस चीजलाई म देख्न पाउनेछु । मैले भौँतारिने आवश्यकता पर्ने छैन । म आफ्नो जीवनमा वास्तविक आनन्दको अनुभव गर्न सक्छु । हामीभित्र यो कुरा नभएसम्म हामी धेरै कुरा गर्ने कोशिश गरिरहन्छौँ । यदि हाम्रो जीवनमा यो सम्भावना भयो भने त फेरि वाह ! वाह ! हुनेछ । त्यसपछि मात्रै वास्तवमा मानिसले वास्तविक शान्तिको अनुभव गर्न सक्नेछ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल थप जानकारीका लागिwww.premrawat.com) (न्यूजअफ नेपालबाट)