२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

रक्त चन्दनकाे खेती गरी आर्थिक समृद्धिकाे आधार निर्माण गरौं

Untitled
Untitled
Untitled

काठमाडौ । संसारकै महँगो प्रजातीको रुख रक्तचन्दन लगाई देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाउ ।

विश्वका १० महगां काठहरू मध्ये Red sandal-wood पनि एक हो । रक्तचन्दन आज भन्दा ५००० वर्ष अधिदेखि हिन्दू धर्मका ग्रन्थमा उल्लेख भएको नाम हो ।

Pterocarpus santalinus नाम रहेको रक्तचन्दन Fabaceae परिवार अन्तर्गत पर्दछ यसलाई नेपाली वा हिन्दी भाषामा रक्तचन्दन, लालचन्दन आदि नामले चिनिन्छ ।

असली रक्तचन्दनको नेपालमा रैथाने प्राकृतिक जंगल छैन । कतै कतै किसान तथा सामुदायिक वनहरुले यसको बृक्षारोपण गरी हुर्काएको पाइन्छ र हुर्काउने क्रम जारी छ ।

जतिबेला देखि नेपालमा रक्तचन्दनको काठको तस्करीका बारेमा मिडियाहरुमा ब्यापक चर्चा हुन थाल्यो, रक्तचन्दन त साँच्चिकै निकै नै महंगो काठ हो भनी मानिसमा सूचना पुग्यो र मानिसहरुबाट रक्तचन्दनको विरुवाको खोजी शुरु भयो ।

असली रक्तचन्दनको काठ किन महँगो छ त ?
अहिले संसारमा राम्रा खालका कस्मेटिक्स र यौनबर्धक औषधीहरुको माग दिनानुदिन बढ्दो छ ।

यसको काठलाई आर्कषक फर्निचर, पुतली, प्रतिविम्व र मूर्तीहरु कुँदन, माला बनाउन, सांगितिक उपकरण/सामिसोन उत्पादन गर्न, गुम्बा बनाउन तथा कस्मेटिक्स र यौनबर्धक आयुर्वेदिक औषधी एवं अत्तर बनाउन प्रयोग गरिन्छ ।

यसको चूर काठ अर्थात हर्टउडको चूर्णको लेपलाई छालामा लगाउँदा यसले छालालाई शितलता प्रदान गर्नुका साथै मुलायम र आकर्षक बनाउँछ । पातलाई डाँलेघाँसको रुपमा प्रयोग गरिन्छ ।

रक्तचन्दनको हिन्दु तथा बौद्ध धर्ममा ठूलो धार्मिक महत्व पनि रहेको छ । यसको काठलाई संसारमा Finest luxury काठको रुपमा लिइन्छ ।

बिश्व बजारमा असली रक्तचन्दनको चूर काठको दिनानुदिन माग बढ्दो छ । भारतको आधिकारिक पसलहरुमा यसको चूर काठ प्रति केजी रु. ९६०० मा किन्न पाइन्छ ।

बैधानिक तवरले उत्पादित रक्तचन्दनको चूर काठ भारत सरकारबाट विद्युतीय बोलपत्रमार्फत ग्लोबल टेण्डर गरेर प्रत्येक बर्ष बिक्री गरिंदै आएको छ ।

यसबाट के प्रमाणित हुन्छ भने नेपालमा पनि वैधानिक र दिगो तवरले उत्पादित असली रक्तचन्दनको चूर काठलाई विश्व बजारमा बैधानिक तवरले नै बेच्न सकिन्छ ।

असली रक्तचन्दनको विरुवा कस्तो ठाउँमा र कसरी लगाउने त र ?
रक्तचन्दनको विरुवालाई सजिलै हुर्काउन सकिन्छ र यो छिटो बढ्छ । रक्तचन्दनलाई १५०—९०० मिटरसम्मको उचाइ भएको पानीको राम्ररी निकास भएको रातो वा दुमट माटो भएको खुल्ला घाम लाग्ने स्थानमा लागाउन सकिन्छ ।

यसले तुषारोलाई सहन सक्दैन र ० देखि —१ डि.से. तापक्रम पुगेको मौसममा यो विरुवा मर्छ ।

यसको विरुवालाई ४ मिटरको फरकमा लगाउन उपयुक्त हुन्छ । यसरी विरुवा लगाउँदा १ कठ्ठामा २१ बटा र १ रोपनीमा ३१ बटा विरुवा लगाउन सकिन्छ ।

कति काठ उत्पादन हुन्छ त ?
विरुवा लगाएको २० बर्ष देखि अर्थात पोल साइजको चुरकाठ प्राप्त हुने मोटाई पुगेमा रुख काटन योग्य हुन्छ । एउटा रुखबाट सामान्यतया २५० केजी चुर काठ प्राप्त हुन्छ ।

यस अर्थमा १ कठ्ठा जग्गामा लगाएको रुखबाट ५२५० केजी चूर काठ प्राप्त हुन्छ ।

विश्व बजारमा यसको चूर काठको सबैभन्दा न्यूनतम मूल्य प्रति केजी रु. १६०० रहेको र सो दरले हिसाब गर्दा उक्त काठबाट ८४ लाख रुपैया प्राप्त हुन सक्ने देखिन्छ ।

यसरी हेर्दा एउटा रुखबाट कम्तीमा ४ लाख रुपैया प्राप्त हुने अनुमान गर्न सकिन्छ ।

विरुवा लगाएपछि के गर्ने ?
असली रक्तचन्दनको विरुवा आफ्नो धनीपूर्जा भएको नम्बरी जग्गामा लगाउनु पर्दछ ।

विरुवा लगाएर लाथ्रा अवस्थामा पुगेपछि वन कार्यालयको सिफारिसमा आफ्नो स्थानीय तहमा निजी वन दर्ता गराई सो को प्रमाणपत्र अनिवार्य रुपमा लिई राख्नु पर्दछ ।

यसले उत्पतिको प्रमाणपत्रको काम गर्दछ । निजी वन दर्ता गराई राख्नु भयो भने उत्पादित रक्तचन्दनको काठ र सो बाट उत्पादित तेल लगायत अन्य बस्तुहरुको विदेशमा बिक्री गर्ने बाटो सजिलै खुल्छ ।

(संकलनः अनिरुद्ध साह । कार्यालय प्रमुख सवडिभिजन वन कार्यालय, उदयपुर)

Untitled
Untitled
Untitled