काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई आफ्नो प्रमुख लक्ष्य बनाएको बताएका छन् ।
शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । ‘
वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो मुख्य लक्ष्य बनाएको छ । चुनौतीपूर्ण अवस्थामा रहेको राजनीति र अर्थतन्त्रलाई सकारात्मक दिशा दिन, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न, देशका सम्पूर्ण विकास आयोजनाहरू तोकिएको गुणस्तर र तोकिएकै समयमा निर्माण सम्पन्न गरी समृद्धिको यात्रालाई तीव्रता दिन दृढसंकल्पित छ,’ उनले भने ।
२०७२ सालमा जारी नेपालको नयाँ संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रूपमा प्रत्याभूत गर्दै समाजवादउन्मुख स्वास्थ्यको संकल्प गरेको उल्लेख गर्दै संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ्यसम्बन्धी हकको व्यवहारिक अभ्यासका निम्ति कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीगत प्रबन्ध र सुधार आवश्यक रहेको उनले बताएका छन् ।
वर्तमान सरकार संविधानमा व्यवस्था भएबमोजिमका ऐनहरू तर्जुमा गरी स्वास्थ्य सेवालाई निस्शुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले बताएका छन् ।