२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

बजार बढेसँगै ब्रोकर हाउसमा रौनक, देखिन थाले पुराना र महिला लगानीकर्ता

Untitled
Untitled
Untitled

काठमाण्डौ, सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।

आज हामी बिहान ११ बज्दा नबज्दै सबैभन्दा पहिले सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) मा पुग्यौँ। त्यहाँ लगानीकर्ता आउने क्रम जारी थियो।

आज बजार खुलेदेखि नै बढेको थियो। सनी सेक्युरिटिजमा एक लगानीकर्ता भन्दै थिए, ‘यो बजारमा अरुको सल्लाहभन्दा आफ्नै बुद्धिले कारोबार गर्नु ठीक रहेछ।’

अर्का एक लगानीकर्ता भने आफू होटेल सेक्टरको सेयर बेच्न आएको भन्दै काउन्टरतिर जाँदै थिए।

बजार एकतमासले बढिरहेको थियो। बजार खुलेको एक घन्टामै करिब १ अर्व ७० करोड रुपैयाँभन्दा बढीको करोबार भएको थियो। यतिबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो।

केही समयको बसाइपछि हामी नक्सालकै थ्राइब सेक्युरिटिज (स्टक ब्रोकर नं. १३_ मा पुग्यौँ। त्यहाँ केही लगानीकर्ता मोबाइलमै बजार हेरेर बसेको थिए। ब्रोकर हाउसमा डिस्प्ले भने बन्द नै राखिएको थियो।

मोबाइलमा बजार हेर्दै एक लगानीकर्ताले गुनासो गर्दै भने, ‘बजार बढ्यो भनेर के गर्नु आफूसँग भएको सेयरको मूल्य नबढेपछि।

यो बैंकको सेयरले हैरान पार्यो।’ थ्राइबमा लगानीकर्ताको उपस्थिति सामान्य थियो।

दिउँसोको १ बज्दै थियो। हामी थ्राइबबाट नक्सलामै रहेको नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो।

त्यहाँ पनि केही लगानीकर्ताले आफूसँग नभएको सेयरको भाउ बढेकोमा पछुतो मान्दै थिए। आफूसँगै रहेका साथीलाई हेर्दै एक लगानीकर्ताले भने, ‘हेर यो शिखर इन्स्योरेन्सको भाउ बढेको। आफूसँग छैन, के गर्नु  ? ’

सँगै बसेका ती साथीले पनि चन्द्रागिरी हिल्स बढेको भन्दै पछुतो मान्दै थिए। त्यहाँ उपस्थित लगानीकर्ताले पनि बैंकको सेयरभाउ नबढेकोमा गुनासो गर्दै थिए।

त्यहाँबाट हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९) मा पुग्यौँ। दिउँसोको २ बज्दै थियो। त्यहाँ भने लगानीकर्ताको उपस्थिति राम्रै थियो।

एक महिला लगानीकर्ता भनिन्, ‘एकजना साथीले ३०० रुपैयाँतिर मूल्य हुँदा तारागाउँ रिजेन्सी होटलको सेयर किन्न भनेका थिए। मैले किनिनँ, अहिले भाउ ह्वात्तै बढ्यो।’

उनीसँगै बसेकी अर्की महिला लगानीकर्ताले हाइड्रो कम्पनीहरुको सेयरभाउ नबढेकोमा गुनासो गर्दै थिइन्।

यही ब्रोकरमा एक लगानीकर्ताले नबिल बैंकले पुनः कुमारी बैंक मर्ज गर्न लागेको र आफूहरुले पनि कुमारीको सेयर किनेको सुनाए।

उनीसँगै बसेका अर्का लगानीकर्ताले ठट्यौली पारामा भने, होइन होला, नबिलले त पहिले नै एनसीसीसँग विवाह गरिसक्यो, अब कुमारीसँग गरे त बहुविवाह लाग्छ होला।’

बजार बढ्न थालेसँगै केही समययता ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति पनि बढ्न थालेको छ। खासगरी महिला लगानीकर्ताको उपस्थिति बाक्लिँदै गएको छ।

अहिले बजारमा पुराना लगानीकर्ता उपस्थिति पनि बढिरहेको छ।

Untitled
Untitled
Untitled