काठमाडौँ, विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो ।
उक्त रकम खर्च गरेर दुई करोड ७५ लाख थान मोबाइल आयात गरिएको तथ्याङ्क छ ।
विगत पाँच वर्षमा मोबाइल आयातमा भएको खर्चका आधारमा प्रत्येक वर्ष २७ अर्ब ४६ करोड रुपियाँ मोबाइल आयातमा बाहिरिएको देखिन्छ ।
मोबाइल आयातबापत सरकारले वार्षिक औसत चार अर्ब ३३ करोड रुपियाँ बराबर राजस्व पनि सङ्कलन गरेको छ ।
यस हिसाबले विगत पाँच वर्षमा सरकारले मोबाइल आयातबापत २१ अर्ब ६४ करोड रुपियाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।
यो पाँच वर्षको अवधिमा आव २०७७/७८ मा सबैभन्दा धेरै मोबाइल आयात भएको छ ।
तथ्याङ्कअनुसार उक्त आर्थिक वर्ष करिब ३७ अर्ब रुपियाँ बराबरको ७० लाख थान मोबाइल आयात भएको थियो ।
अधिकांशले चलाउँछन् स्मार्ट फोन
विश्वव्यापी प्रवृत्तिजस्तै नेपालमा पनि अधिकांशले स्मार्ट फोन नै प्रयोग गर्ने गरेका छन् ।
दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कुनै एक पटक सक्रिय भएका मोबाइल फोनको तथ्याङ्कका आधारमा हेर्दा कुल मोबाइल सेट प्रयोगकर्तामध्ये करिब ६८ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्ने देखिएको हो ।
बाँकीले भने बार फोन प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्क छ ।
सेवा प्रदायकअनुसार हेर्दा नेपाल टेलिकम र एनसेल दुवैका प्रयोगकर्ताले सबैभन्दा धेरै सामसुङ ब्रान्डका मोबाइल प्रयोग गर्ने पाइएको छ ।
प्राधिकरणका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समीक्षा अवधिमा करिब एक करोड ५८ लाख मोबाइल सेट सक्रिय भएको देखिएको छ ।
त्यस्तै एनसेलको नेटवर्कमा एक करोड ७० लाख मोबाइल सेट सक्रिय देखिएको छ ।
टेलिकमको नेटवर्कमा सबैभन्दा धेरै सामसुङ र त्यसपछि रेड्मी, ओप्पो, नोकिया, भिभो, आइटेललगायतका मोबाइल ब्रान्ड बडी प्रयोग भएको देखिएको छ ।
एनसेलको नेटवर्कमा पनि सबैभन्दा धेरै सामसुङ र त्यसपछि साओमी, ओप्पो, भिभो, आइटेलजस्ता ब्रान्डका मोबाइल प्रयोग भएको पाइएको छ ।
पाँच वर्षमा हराए १५ हजार मोबाइल
समीक्षा अवधिमा करिब १५ हजार मोबाइल हराएको पाइएको छ । प्राधिकरणका अनुसार विगत पाँच वर्षमा सो बराबरका मोबाइल हराएको आवेदन प्राप्त भएको हो ।
सबैभन्दा धेरै गत आर्थिक वर्षमा मात्रै १० हजार मोबाइल हराएको निवेदन प्राधिकरणले प्राप्त गरेको थियो ।
हराएका कुल मोबाइलमध्ये सात हजार मोबाइल मात्र सेवा प्रदायकको नेटवर्कमा जोडिएको पाइएको प्राधिकरणले जनाएको छ, जसमध्ये प्राधिकरणले नेटवर्कमा टेस भएका दुई हजार छ सय मोबाइल खोजीका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।