२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बाढीपहिरोले बाह्रबिसे–तातोपानी राजमार्गमा क्षति, सवारीसाधन आवागमनमा समस्या

Untitled
Untitled
Untitled

सिन्धुपाल्चोक, बाह्रबिसे–तातोपानी राजमार्गमा जोखिम बढेको छ। २६ किलोमिटर लामो उक्त राजमार्गका ठाउँ ठाउँमा पहिरो र भोटेकोशी नदीको कटानले सवारीसाधन आवतजावतमा जोखिम बढेको हो।

चाकु बजारभन्दा केहीमाथि रहेको झ्याले भिरबाट पहिरो आएर राजमार्ग दिनहुँ अवरुद्ध हुँदै आएको छ।

ठाडो खोलाले साँधी खोल्सा खण्ड जीर्ण बनेको छ। डाक्लाङ सडकखण्ड चिराचिरा परेको छ। १० किलो, लार्चा खण्डमा पहिरोको जोखिम बढेको छ।

जुरेदेखि सीमा क्षेत्र कोदारी, मितेरी पुलसम्मका सडकखण्डमा पहिरो र ढुङ्गा खसेर सवारीसाधनमा क्षति पुग्ने गरेको छ।

कोदारी राजमार्ग भनेर चिनिने बाह्रबिसे–मितेरी पुलसम्मको सडकखण्डमा पहिरो आउने, भासिने, भोटेकोसी नदीको बाढीले तान्ने भएका कारण सवारीसाधन आउजाउमा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले जानकारी दिए।

कोदारी खण्ड, तातोपानी खण्ड, मितेरी पुल क्षेत्रका सडकमा माथिबाट ढुङ्गा खस्ने भएकाले सवारीसाधन र पैदलयात्री उच्च जोखिममा भएको लार्चा प्रहरी चौकीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।

अविरल वर्षासँगै भोटेकोशी नदीको बाढीले कटान र झ्याले, बसेरी, चाकु, झिर्पु, महभिर, सिरिसे, जम्बु, खाग्दल, दसकिलो, दुगुना, लिपिङ खण्डमा माथिबाट पहिरो आउने र ढुङ्गा खस्ने गरेको छ।

ठाउँ ठाउँमा पुरानो पहिरो खस्ने, ढुङ्गा खस्ने, ठाडो खोलामा बाढी आउने भएकाले सवारीसाधनमा जोखिम मोलेर यात्रु आउजाउ गर्छन्। सडकको अवस्था कन्तबिजोग भएपछि यातायात र पैदल यात्रामा अति जोखिम भइरहेको छ।

विसं २०७१ साल साउन १७ को भीषण जुरे पहिरो, २०७२ सालको विनाशकारी भूकम्प, बाढीपहिरोलगायतका विपत् घटनाले उक्त राजमार्गको अवस्था कमजोर हुँदै आएको हो।

उक्त सडक स्तरोन्नति गर्न चार वर्षअघिदेखि एक अर्ब ३६ करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ।

चाइना रेलवे (फोर्थ) कन्स्ट्रक्सन ब्युरो ग्रुप कम्पनी (सीआरसीसी) ले सडक फराकिलो र स्तरोन्नति गरेको थियो।

उक्त निर्माण कम्पनीले ‘सेकेन्ड फेज कन्ट्र्याक्ट’ अन्तर्गत सो राजमार्गका विभिन्न १७ स्थानमा पहिरो नियन्त्रण र मर्मतसम्भारको काम गरेको थियो।

अहिले उक्त राजमार्गको अवस्था बाढीपहिरोले नाजुक बनाएको छ।

Untitled
Untitled
Untitled