धुन्चे, नेपाल-चीनबीचको ल्हेन्देखोलामा मितेरी पुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा-केरुङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ ।
मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि सामान आयातका क्रममा केरुङतर्फ जाने सवारी चालकको पास नवीकरण प्रक्रिया आइतबारदेखि सुरु भएको हो ।
निमित्त अध्यागमन प्रमुख मेघनाथ शर्माका अनुसार यही आइतबार सात जनाको नवीकरण, पाँच जनाको प्रतिलिपि र एक जनाको नयाँ पास जारी गरिएको र बसाइ सरी रसुवा जिल्ला बाहिरबाट आएका व्यक्तिको भने सरोकारवाला पक्षको सहमतिका आधारमा पछि गरिने छ ।
बसाइ सरी आएका मानिसको नवीकरण नगर्न जनदबाब आइरहेकाले नयाँ कार्यालय प्रमुखसमेत आएपछि सो सम्बन्धमा आवश्यक निर्णय हुने उनले जानकारी दिएका छन् ।
मितेरी पुल सञ्चालनका विषयमा चिनियाँ पक्षबाट यकिन जवाफ प्राप्त भएपछि मात्र आधिकारिक जवाफ दिन सकिने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नाका भएकाले सम्बद्ध दुई देशका अधिकारीबीचको बैठकपछि मात्र रसुवागढी नाका सञ्चालन हुने दिन तोक्न सकिने उनले बताए ।


































