२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुपर मादीको माथिल्लो तमोरमा सवा अर्ब लगानी, हकप्रद शेयर निष्काशन गर्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सुपर मादी हाइड्रोपावर लिमिटेडले २८५ मेगावाटको क्षमताको माथिल्लो तमोर अर्धजलाशय आयोजनामा लगानी गर्ने भएको छ।

उक्त आयोजनामा लगानी गर्न सुपर मादीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

सुपर मादीले हकप्रद शेयर निष्काशन गरेर माथिल्लो तमोरमा एक अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएको हो। हाल सुपर मादीको चुक्ता पुँजी दुई अर्ब २० करोड ५० लाख रुपैयाँ छ।

गत वर्ष गरेको नाफाबाट कम्पनील ५ प्रतिशत बोनस शेयर वापत ११ करोड दुई लाख रुपैयाँ शेयरधनीलाई बोनस शेयर दिने भएको छ।

प्रस्तावित बोनस शेयर वितरणपछि सुपर मादीको चुक्ता पुँजी बढेर दुई अर्ब ३१ करोड ५२ लाख रुपैयाँ पुग्ने छ।

उक्त चुक्ता पुँजीको आधा हकप्रद शेयर निष्काशन गर्ने सुपर मादीले जनाएको छ।

माथिल्लो तमोर अर्धजलाशय आयोजना बनाउन लगानी जुटेको छ। २०८१ जेठ २४ मा तमोर इनर्जीका अध्यक्ष पुष्पज्योति ढुंगाना र अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेको थिए।

एभरेष्ट बैंकको अगुवाईमा कृषि विकास बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीयल), राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक तथा गरिमा विकास बैंकले ऋण लगानी सम्झौता गरेका थिए।

माथिल्लो तमोरको बनाउन ५५ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनामा १६ अर्ब ५५ करोड स्वपुँजी तथा ३८ अर्ब ६० करोड बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्।

माथिल्लो तमोर आयोजना काम शुरु गरेको चार वर्षमा सम्पन्न गर्न लक्ष्य कम्पनीको छ।

आयोजना सञ्चालनबाट पहिलो वर्षमा करिब १० अर्ब १२ करोड रुपैयाँ आम्दानी हुनेछ।

वार्षिक रुपमा वृद्धि हुँदै नवौ वर्षमा बढेर १२ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ। नेपाल विद्युत प्राधिकरणले आयोजनाको विकासकर्ता तमोर इनर्जीबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ।

कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएको छ।

आयोजना कोशी प्रदेश ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकामा निर्माण हुनेछ। आयोजना अर्धजलाशययुक्त आयोजना हो।

६ घण्टाको पिकिङ क्षमतामा निर्माण हुने यस आयोजनामा बाँधमाथि रहने जलाशयमा २ घण्टा र हेड पोण्डमा ४ घण्टा पूर्ण क्षमतामा विद्युत निकाल्न पुग्ने पानी भण्डारण गरिने कम्पनीले जनाएको छ।

आयोजनाको डिजाइन डिस्चार्ज करिब ७८ घनमिटर प्रतिसेकेन्ड र हेड ५० मिटर रहनेछ। आयोजनामा ५७ मेगावाट क्षमताका ५ वटा पेल्र्टन टर्बाइन रहनेछन्।

उत्पादित विद्युतलाई २२० केभीको डबल सर्किट करिब १५ किलोमिटर लामो प्रसारण लाइन मार्फत ढुङ्गेसाँघु सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीले जनाएको छ।

Untitled
Untitled
Untitled