२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

साहसिक पर्यटन प्रर्वधन गर्न सिन्धुपाल्चोकको बलेफीस्थित भोटेकोशी किनारमा र्‍याफ्टिङ स्कूल बन्दै, बेसिक र एडभान्स तहका कोर्स सिकाइने

Untitled
Untitled
Untitled

सिन्धुपाल्चोक, साहसिक पर्यटन प्रर्वधनलाई थप सहयोग पुर्याउने उद्येश्यले सिन्धुपाल्चोकको बलेफी स्थित भोटेकोशी किनारमगा एशियाकै पहिलो र्‍याफ्टिङ स्कूल निर्माण भइरहेको छ ।

बलेफी गाउँपालिका ५ भोटेकोशी (सुनकोशी) नदी किनारमा शुरु हुन गइरहेको उक्त स्कूलमा जलस्रोतसँग सम्बन्धित आपत्कालीन उद्धारमा खटिने दक्ष जनशक्ति उत्पादन, र्‍याफ्टिङसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान, शैक्षिक अध्ययन तथा अनुसन्धान प्रर्वधनका साथै जलपर्यटनलाई आयआर्जनसँग जोड्ने उद्देश्यले विद्यालय सञ्चालनको तयारी गरिएको हो ।

पर्यटन विभागले भोटेकोशी नदीकिनारको भौगोलिक र भौतिक बनावट र्‍याफ्टिङ तालिमका लागि उपयुक्त रहेको ठहर पछि उक्त स्कूलमा लगानी गरेको छ ।

नेपाल सरकारको १३ करोड रुपैयाँ लागतमा उक्त र्‍याफ्टिङ स्कूल निर्माण गरिएको हो । निर्माणको अन्तिम चरणका काम यतिखेर भईरहेका छन् ।

नदीकिनारमा झन्डै १३ रोपनी क्षेत्रफलमा फैलिएको परिसरमा आवश्यक संरचना निर्माण भइसकेको छ ।

आगामी असोजदेखि सञ्चालनमा ल्याइने विद्यालयमा कक्षाकोठा, प्रशिक्षण हल, पौडीपोखरी, आवास गृह सहित र्‍याफ्टिङ तालिमका लागि आवश्यक अन्य पूर्वाधार तयार भइसकेका छन् ।

सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठका अनुसार स्कूलमा ‘वाटर रेस्क्यु कसरी गर्ने, यसलाई पर्यटन र आयआर्जनसँग कसरी जोड्न सकिन्छ र पानीभित्र आधारित साहसिक खेलहरूमा केन्द्रित कोर्स तयार भइरहेको छ,’ ‘यो कोर्स विद्यालयस्तरका विद्यार्थीका लागि पनि उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।

केन्द्र सरकारको बजेटमा संरचना निर्माण भइसकेको छ । अब असोजदेखि बेसिक र एडभान्स तहका कोर्स सञ्चालनमा ल्याइन्छ ’ श्रेष्ठले भने ।

उनका अनुसार रिभरगाइड र सम्बन्धित विज्ञहरूले तालिम सञ्चालन गर्नेछन् । प्रशिक्षणका लागि आवश्यक पाँचवटा कक्षाकोठा र एउटा सम्मेलन हलसहितका पूर्वाधार निर्माण भइसकेको छ ।

र्‍याफ्टिङ क्षेत्रमा यस क्षेत्रमा स्थानीय मानिस बढी सक्रिय छन्, उनीहरूलाई तालिम तथा शैक्षिक ज्ञान दिएर दक्ष बनाउँदा यो पेसा नै भरपर्दो बन्छ,’ उनले भने, ‘सिन्धुपाल्चोकमा बनेको संरचनामा युवाहरूलाई तालिम तथा शैक्षिक योग्यता दिन्छौँ  यो देशकै अवसर हो ।’

स्थानीय सरकार, सरोकारवालाले पनि उक्त शैक्षिक कार्यक्रम सञ्चालनका लागि सहयोग गर्नेछन् ।

र्‍याफ्टिङ स्कूलमा मुख्यत ६ महिनासम्मको कोर्स सञ्चालन गरिनेछ । तर, यहाँ भर्ना हुनका लागि दुई वर्षदेखि र्याप्टिङ तथा जलाशय क्षेत्रमा काम गरेको भने हुनुपर्ने छ ।

जलसम्बन्धी खेल र र्‍याफ्टिङको हब बनाउने गरी यो क्षेत्रमा एकेडेमिक कक्षा सञ्चालन गर्न लागिएको हो ।

कक्षा सञ्चालन भइसकेपछि पहिलो चरणमा १६० जना विद्यार्थी भर्ना लिइनेछ । भोटेकोशी क्षेत्रमा पानीसँग सम्बन्धित थुप्रै पेसा/व्यवसाय गर्न सकिने भएकाले यस योजनामा काम भइरहेको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कोर्स सञ्चालनका लागि नेपाल पर्यटन तथा होटेल व्यवस्थापन समिति ९नाथम० ले ‘नेसनल ह्वाइट वाटर स्कूल बलेफी’ कार्यविधि पास गरिसकेको छ ।

नाथमले कार्यविधिकै आधारमा सञ्चालन समितिसमेत बनाइसकेको छ । सञ्चालन समितिमा नाथम, पर्यटन विभाग, स्थानीय सरकार, पर्यटन व्यवसायीलगायत छन् ।

सरकारी संरचना र नाथमले नै कक्षा सञ्चालन गर्ने भएकाले यो कोर्स तुलनात्मक सस्तो हुनेछ । सञ्चालनमा आउन लागेको र्याफ्टिङ स्कुलको पाठ्यक्रम डिजाइनकै चरणमा छ ।

र्‍याफ्टिङ कोर्स अध्ययनको लागि भिन्दै स्थायी संरचना बनेको पहिलोपटक भएको अध्यक्ष श्रेष्ठको दावी छ । आजभन्दा ५० वर्ष पहिलेदेखि नेपाल र्‍याफ्टिङ शुरु भएको थियो ।

तर, यससम्बन्धी अध्ययन, अनुसन्धान र यसलाई पर्यटन व्यवसायमा व्यवस्थित गर्न सकिएको छैन,’ , ‘अब हामीले सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा यससम्बन्धी अध्ययन, अनुसन्धान र थुप्रै जलपर्यटनका कार्यक्रमहरू सञ्चालन गर्छौँ ।’

हाल जापान, स्पेन, इटाली फ्रान्समा रिभरगाइडको माग बढ्दो छ । पछिल्लो समय दुबई, कतार, मलेसियाजस्ता देशहरूले कृत्रिम खोला बनाएर समेत र्‍याफ्टिङ व्यवसाय गरिरहेका छन् ।

‘मुख्यतस् तलब पनि बढी हुने भएकाले नेपालमा तालिम लिएका विदेश जान्छन्,’ ‘नेपालमा ४० हजार कमाउँछन् । तर, तिनै रिभरगाइड विदेश गएर तीनदेखि १० लाख रुपैयाँसम्म कमाउँछन् ।’

कार्यविधिकै आधारमा र्याफ्टिङ स्कूल सञ्चालक समिति बनेको अध्यक्ष श्रेष्ठ बताउँछन्।

स्कूलले दिने तालिमहरू यो स्कुलले मुख्य रूपमा जल खेलकुद तथा साहसिक पर्यटनसँग सम्बन्धित विविध तालिमहरू प्रदान गर्नेछ।

पछिल्लो समय र्‍याफ्टिङ तथा जलपर्यटनसम्बन्धी पेसामा यूवाहरू बढी आकर्षित छन् ।

खोलाआसपासका माझी समूदाय तथा स्थानीयलाई आधिकारिक कक्षा सञ्चालन गरेर शैक्षिक प्रमाणपत्र दिँदा यसले र्‍याफ्टिङ तथा जलपर्यटनको विकासमा लाग्ने नेपाल पर्यटन तथा होटेल व्यवस्थापन समिति (नाथम) का सूचना अधिकारी ज्ञानेन्द्रराज पण्डितले बताए  ।

‘र्‍याफ्टिङ क्षेत्रमा स्थानीय मानिस बढी सक्रिय छन्, उनीहरूलाई तालिम तथा शैक्षिक ज्ञान दिएर दक्ष बनाउँदा यो पेसा नै भरपर्दो बन्छ,’ उनले भने , ‘सिन्धुपाल्चोकमा बनेको संरचनामा युवाहरूलाई तालिम तथा शैक्षिक योग्यता दिन्छौँ ।’

अध्यक्ष श्रेष्ठ भन्छन्, “हाम्रो उद्देश्य नेपाललाई जल खेलकुदको मुख्य गन्तव्य बनाउने हो। यहाँ प्रशिक्षित गाइड उत्पादन गरी अन्तर्राष्ट्रिय स्तरको लाइसेन्स प्रदान गर्ने योजना छ।

नेपालको पर्यटन क्षेत्रमा यस स्कूलको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ।

यो स्कूल सञ्चालन भएपछि नेपालमा साहसिक पर्यटन गर्ने पर्यटकहरूको संख्या बढ्ने, स्थानीय समुदायलाई रोजगारी सिर्जना हुने, र नेपाली गाइडहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर प्राप्त हुने छ।

सिन्धुपाल्चोकका व्यवसायी नारायण श्रेष्ठ नेपाली पर्यटन क्षेत्रका एकजना प्रभावशाली व्यक्तित्व हुन्।

उनी सिन्धु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष तथा सिन्धुपाल्चोककै लोकप्रिय पर्यटन गन्तव्य सुकुटे भ्याली रिसोर्टका सञ्चालक पनि हुन्।

श्रेष्ठको अगुवाइमा सिन्धुपाल्चोकमा पर्यटन प्रर्वधनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्।

सुकुटे महोत्सव जस्ता इभेन्टहरू आयोजना गरी स्थानीय पर्यटन प्रर्वधन गर्ने काममा उनको विशेष योगदान रहेको छ।

यसका साथै, उनी राफ्टिङ एसोसिएसन नेपाल (नारा) का पूर्वमहासचिवसमेत रहेका छन्। राफ्टिङ खेलकुदको विकास र प्रर्वधनका लागि उनले लामो समयदेखि काम गरिरहेका छन्।

के के हुन्छ स्कूलमा पढाई ?

१. र्‍याफ्टिङ तालिम

– बेसिक तालिम – नदीमा डुङ्गा कसरी चलाउने, सुरक्षा उपायहरू, आवश्यक उपकरणहरूको प्रयोग।
– एडभान्स तालिम – नदीको प्रवाह व्यवस्थापन, जोखिम व्यवस्थापन, आपत्कालीन अवस्थामा अपनाउने विधिहरू।
– गाइड ट्रेनिङ – व्यावसायिक गाइड बन्न चाहनेहरूका लागि विशेष तालिम।

– नेपाल र अन्तर्राष्ट्रिय स्तरमा काम गर्न सक्ने पेशागत गाइडहरू उत्पादन गर्नुका साथै र्‍याफटिङ गाइडका लागि आवश्यक प्रमाणपत्र तथा अन्य आवश्यक कागजात प्रदान गर्ने छ’ ।

२. सुरक्षा सम्बन्धी प्रशिक्षण

– लाइफ ज्याकेट, हेल्मेट, र अन्य सुरक्षा उपकरणहरूको प्रयोग।
– डुङ्गा पल्टिएमा वा बगेमा अपनाउनुपर्ने विधिहरू।
– नदीको बहाव र खतराजन्य क्षेत्रहरूको चिनारी।

३. व्यावसायिक राफ्टिङ गाइड उत्पादन

– नेपाल र अन्तर्राष्ट्रियस्तरमा काम गर्न सक्ने गाइडहरू उत्पादन।
– लाइसेन्स तथा सर्टिफिकेसनका लागि आवश्यक तालिम।

४. आपतकालीन उद्धार प्रशिक्षण

– दुर्घटना भएमा उद्धार गर्ने प्रविधि सिकाउने।
– बाढी तथा नदीजन्य आपत्कालीन अवस्थाहरूमा सहायता गर्न सक्ने जनशक्ति उत्पादन।

५. अन्य जल खेलकुद तालिम
– कायाकिङ, क्यानोइङ, हाइड्रोस्पीडिङ जस्ता खेलकुदको प्रशिक्षण।

Untitled
Untitled
Untitled