धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राई समुदायले मनाउँदै आएको पापानी पर्व मङ्गलबार भव्यताका साथ सकिएको छ ।
कार्तिक पूर्णिमापछिको पहिलो मङ्गलबारदेखि नयाँ बाली भित्र्याएको खुसियालीमा धनकुटाका खाल्सा क्षेत्रमा पापानी मनाउन सुरु गरिएको थियो । चाड सुरु भएपछि मुन्धुमविद्ले खुढाहाङ (कुलदेवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुलदेवता र पितृको पूजा गर्दै निरन्तर छ दिन छ रातसम्म नाचगान गरी पापानी मनाउने गरिएको छ । आफ्नो मनोकामना पूरा होस् भनेर एक जोडी परेवा उडाएर खुढाहाङलाई सम्झने गरिन्छ ।
पापानी पर्वमा किराँत राईहरूले कुलदेवता खुढाहाङको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै नाच्छन् । यो नाच एकअर्कासँग कुम जोडेर बाजाको तालमा तीन पाइला अघि र तीन पाइला पछि सरी नाच्ने गरिन्छ ।
यो पर्व कुलदेवता र पितृको पूजा गर्दै मनाउने चलन रहेको सहिदभूमि गाउँपालिका–६, आँखीसल्लाका डिल्लीराज राई बताउनुहुन्छ । “अन्यले जसरी आफ्नो विधि अनुसार कुल पितृ सम्झेर आआफ्नो विधि अनुसार पूजाआजा गर्छन्, त्यस्तै गरी हाम्रो पनि नयाँ बाली भित्र्याएपछि आफ्नो विधि अनुसार पूजाआजा गर्छौं,” राई भन्नुहुन्छ ।
एक हप्ता सहिदभूमि गाउँपालिकाको खोकु, छिन्ताङ र आँखीसल्लाका गढी गढीमा फरक फरक दिन मेला लागेको थियो । सोही मेलामा पापानी नाच्ने र गाउने गरिएको थियो । विभिन्न स्थानमा बस्ने छ्युलुङ र नाम्चाहाङ पाछाका राई समुदायका व्यक्तिले यो चाड मनाउने गरेका छन् ।