२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

श्रीस्वस्थानी ब्रतकथाको पौराणिक महत्व

Nabil Bank

श्रीस्वस्थानी व्रतकथा वाचन गरिसकेपछि प्रत्येक अध्यायको अन्त्यमा इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहत्म्ये श्रीस्वस्थानी व्रतकथायां…. भन्ने संस्कृत वचन पढ्नुपर्छ।

यो वचनअनुसार स्वस्थानीको मूलग्रन्थ स्कन्द पुराण हो। तर स्कन्द पुराणमा मात्र होइन अन्य कुनै पनि पुराणमा सम्पूर्ण स्वस्थानी व्रतकथाको पूरा कथा पाइँदैन। ३१ अध्यायमा विभाजित स्वस्थानीका केही कथा स्कन्दपुराणबाट लिइए पनि सबै कथा यसका होइनन्।

विभिन्न पुस्तकमा विविधता हुने भएपनि सुरुका केही अध्याय भूगोल, सृष्टि आदिका वर्णन त्यसपछि महादेव सतीदेवीका कथा, महादेव पार्वतीका कथा शिवभट्ट गोमा नवराज आदिका कथा हुँदै स्वस्थानीको माहत्म्य भएको पाइन्छ।

पद्मपुराणमा शिवपार्वती संवादको रूपमा १५३ श्लोक स्वस्थानी व्रत माहात्म्य बताइएको छ। जसमा स्वस्थानी देवीको स्वरूप व्रतविधि लगायत शिवशर्मा गोमा, नवराज आदि स्वस्थानी व्रतकथामा आउने प्रसंगहरूको सामान्य कथा बताइएको छ।

श्रीमद्भागवतका केही कथा पनि स्वस्थानीमा आउँछ। भूगोलको वर्णन ब्रह्माले वराह अवतार लिएर पृथ्वीको उद्धार गरेका आदि प्रसंग श्रीमद्भागवतबाट झिकिएको हो। यसैगरी विष्णुले मधु कैटभ दानवलाई मारेको कथा वाराह पुराणबाट लिइएको हो।

यसरी विभिन्न पुराणका कथाहरूको संग्रह गरी स्वस्थानी व्रतकथा बनाइएको हो। पहिले स्वस्थानी व्रतकथा नेवारी भाषामै लेखिएको अनुसन्धाता बताउँछन्। पछि मात्र नेपाली भाषामा रूपान्तरण गरिएको थियो। यस्तै स्वस्थानीको व्रत पनि पहिलेपहिले नेवारी समुदायका महिलाले मात्र लिन्थे।

पछि व्यापारिक सिलसिलामा उनीहरू देशभरि पुगेपछि उनीहरूसँगै स्वस्थानी व्रत पनि सबै समुदायमा फैलिन थालेको देखिन्छ। हिजोआज हिन्दुधर्म मान्ने नेपालीहरूमा स्वस्थानीको व्रत र व्रतकथा लोकप्रिय छ। साँखु लगायतका स्थानमा आज पनि नेवारी भाषामा भएको स्वस्थानी व्रतको पुस्तक अझै पनि पाउन सकिन्छ।