२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

यसरी विस्तार हुँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

Untitled
Untitled
Untitled

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन्।

गए राति पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तारको काम गरिरहेको हो। विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माणको काम तीब्र गतिमा काम भइरहेको भन्दै समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे।

उनले ठूलो संख्यामा विभिन्न जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे।

पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै निर्माणको काम सकेर विमानस्थलको उडान सेवा प्रभावकारी हुने बताए।

“दश घण्टा विमानस्थल बन्द गरेर निर्माणको काम तीब्र गतिमा सबै साईडमा काम भइरहेको छ । निर्धारित समय आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने समय तोकेका थियौँ, त्यो भन्दा पहिला नै काम हुन्छकी भन्ने अहिलेको युद्धस्तरमा भइरहेको कामले सङ्केत गरेको छ”, उनले भने।

उनले हरेक परियोजनामा समयमै काम नहुने, ठेक्का तोडिने र सडक भवन अलपत्र हुने अवस्था रहेको छ भन्दै कम्तिमा विमानस्थलमा भइरहेको निर्माणको कामले तोकिएकै समयमा काम गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे।

Untitled
Untitled
Untitled