काठमाडौं, काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् ।
महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ ।
महानगरको सूचनामा भनिएको छ,‘संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४.१ ( २ ) मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क लिन पाउने मापदण्ड रहेतापनि काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले प्रचलित ऐन नियम, मापदण्ड र निर्देशिका बमोजिमबाहेक विद्यार्थी भर्नालगायतका शुल्क नलिनुहुन तथा यसअघि प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई फिर्ता गर्नुहुन समेत अनुरोध छ ।’



































