काठमाडौं, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने चालू अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
यस्तै, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरूसम्बन्धित मन्त्रीबाट टेबुल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने कार्यसूची पनि छ ।
यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पनि पेस गर्नेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।
आजै सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम ( १ ) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेस गर्ने कार्यसूची रहेको छ ।
यद्यपि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठक अवरोध गर्ने सम्भावना छ । कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको छ ।
आजको संसद् बैठक बस्नुअघि कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा संसद् अवरोध गर्नेरनगर्ने र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

































