कालीकोट, कालीकोटको खाडाचक्र– ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ ।
स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारको क्रममा मृत्यु भएको हो ।
यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए ।
जलेर गम्भीर घाइते भएका दुवैजनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
जलेर गम्भिर घाइते भएका बाबुछोरीलाई हेलिकोप्टर मार्फत सुर्खेत लगिएको थियो । चौलागाईंका ४५ वटा बाख्रा पनि जलेर मरेका स्थानीयले बताएका छन् ।


































