काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
चीन भ्रमणबाट स्वेदश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलमा विगतका सहमति कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको समेत जनाए ।
उनले भने, ‘राष्ट्रसंघको महासभामा भाग लिएर न्युयोर्कबाट चीनको हान्जाउ पुगेको थिएँ ।
राष्ट्रपति सीसँगको वार्तामा अवसर र सम्भावनाको भरपुर सदुपयोग गर्ने, बहुआयामिक सम्बन्ध प्रगाढ बनाउनेबारे छलफल भयो ।
नेपालको विकासमा चीनको साथबारे खुलेर कुरा भयो । साथै नेपाल सधैं एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको मैले दोहोर्याएँ ।’
प्रधानमन्त्री प्रचण्डले आफ्ना दुवै भ्रमण अत्यन्तै सफल भएको भन्दै भविष्यमा यो सम्बन्धलाई अझ उचाइमा लैजान दुवै पक्षले गर्नुपर्ने कामबारे गहन छलफल भएको पनि बताए ।
चीनले गरिबी निवारण र आर्थिक विकासमा हासिल गरेको समृद्धिबाट फाइदा लिन नेपालले गर्नुपर्ने पहलबारे आफूले कुरा राखेको उनले बताए ।
यसमा चिनियाँ राष्ट्रपति सीको समर्थन रहेको भन्दै प्रधानमन्त्री दाहालले चीनका विभिन्न शहरबाट पोखरामा सिधै उडान गर्ने समझदारी महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
चिनियाँ प्रधानमन्त्री लि छियाङसँगको वार्तामा सहकार्यका विविध विषयमा छलफल भएको भन्दै उनले उत्तरी दुर्गम गाउँमा प्रसारणलाइन विस्तार र सौर्य प्रणाली जडान तथा कोभिड १९ को महामारी अगाडि सञ्चालनमा रहेका सबै सीमा नाका सञ्चालन गर्ने सहमति भएको समेत जनाए ।
अमेरिका भ्रमणका क्रममा राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेससँगको भेट महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालले जनाए । ‘
भेटमा नेपालको शान्ति प्रकिया र राष्ट्रसंघको शान्ति मिशनमा नेपालले पुर्याएको योगदानबारे छलफल भयो ।’
उनले थपे, ‘मैले महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको छु, छिट्टै आउने कुरा भएको छ ।’
राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री दाहालगत शनिबार न्यूयोर्कबाट सिधै चीनको हान्जाउ पुगेका थिए । एकसाता लामो भ्रमण पूरा गरेर उनी आज स्वदेश फर्किएका हुन् ।


































