२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भेटियो सुनकोशीमा वेपत्ता सिटिइभिटीका दुई कर्मचारीको शव

Untitled
Untitled
Untitled

सिन्धुली, सुनकोसी नदीमा जीपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) दुई कर्मचारीको शव गाडीभित्रै भेटिएको छ ।

दुर्घटना भएको आज पाँचौँ दिन नदीबाट गाडी निकालिएपछि शव भेटिएको हो । जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी र इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेलको शव प्राप्त भएको जानकारी सिन्धुलीका एसपी राजकुमार सिलवालले दिए ।

सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोरले गाडी भेटाएर नदीबाट बाहिर निकालेका हुन ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेल सवार थिए ।

चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए भने निर्देशक भुर्तेलको खोजी कार्य जारी छ।

Untitled
Untitled
Untitled