२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भ्याट लागू भएसँगै कमी भयो तरकारी आयात

Untitled
Untitled
Untitled

काठमाडौँ, सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको चार दिनदेखि देशबाहिरबाट आउने तरकारी भित्र्याइएको छैन् ।

संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीहरूले आलु, प्याजलगायतका तरकारी बजारमा भित्रायाएका छैनन् ।

वर्तमान सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरवलोकन गरी करका आधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरिएको विषयमा बजेट वक्तव्यमा उल्लेख छ ।

यसअघि तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा सरकारले मूल्य अभिवृद्धि कर छुट दिँदै आएको थियो ।

सरकारको घोषणा अनुसार अब प्याज, आलु, लसुन, केराउ, फ्रोजन सागपात, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुङ्गो, न्युजिल्यान्ड पालुङ्गोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपात, एभोकाडो, स्याउ, श्रीफल )क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किवी फ्रुट, हलुवाबेदलगायतका फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ ।

कपास, ऊन, फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको राजस्व महाशाखाका अनुसार सरकारले उक्त वस्तुमा भ्याट लगाउने घोषणा भए पनि सबै वस्तुको न्यूनतम सीमा निर्धारण गरेको छ ।

सरकारले ५० लाख रुपियाँभन्दा बढीको आयातमा मूल्य अभिवृद्धि कर लगाएको हो, उक्त सीमाभन्दा कम आयात गर्नेलाई सो कर तिर्नु नपर्ने सो महाशाखाले जनाएको छ ।

सरकारले मूल्य अभिवृद्धि कर नियमावली, २०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपियाँसम्म र वस्तु तथा सेवाको हकमा २० लाख रुपियाँ मूल्य अभिवृद्धि करको सीमा तोकिएको सो शाखाले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा बर्सेनि तीन खर्ब बढी रुपियाँको कृषि उपज वस्तु र २८ अर्ब रुपियाँ बराबरको तरकारी तथा फलफूल आयात हुने गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले तरकारीमा १३ प्रतिशत भ्याट लगाइएको असर प्याजबाहेकका अन्य तरकारीमा नदेखिएको जानकारी दिए ।

कालीमाटी बजारमा देशबाहिरबाट आउने तरकारी बजेट वक्तव्यपछि आउन छोडेको तर अन्य तरकारी स्थानीय नै भएकाले तत्काल असर नदेखिएको र प्याजमा भने सिधै असर परेको उनको भनाइ छ ।

कालीमाटीका व्यवसायी प्यानमा दर्ता भएको र भ्याटमा दर्ता नभएकाले तत्काल खरिद प्रव्रियामा पनि समस्या भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

समितिको तथ्याङ्क हेर्दा पनि प्याज आयातमै भर पर्नुपर्ने अवस्था छ । कालीमाटी बजारमा भित्रिने प्याजमध्ये ९८ प्रतिशत भारतबाट भित्रिएको समितिले जनाएको छ ।

कालीमाटीमा आलुको परनिर्भरता पनि बढेको छ । सो बजारमा भित्रिएको आलु आयात अवस्था हेर्दा ५० प्रतिशतको हाराहारी भारतले धानेको देखिन्छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको नौ महिनामा छ अर्ब बराबरको एक लाख ५४ हजार ४५८ टन प्याज भारतबाट भित्रिएको छ ।

आलु पनि करिब सोही परिणामको भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । कुल जनसङ्ख्याको करिब ६६ प्रतिशतले कृषि पेसा अँगालेका छन् ।

प्रत्येक नेपालीको भान्छामा तरकारी स्वादिलो बनाउने प्याज भने करिब ९५ प्रतिशत आयात गरिन्छ । आलु भने मागको ५० प्रतिशत भारतलगायत तेस्रो मुलुकबाट आयात हुन्छ ।

प्याजको उत्पादन भने कुल मागको करिब पाँच प्रतिशत मात्रै हुन्छ । माग अनुसार उत्पादन स्वदेशमा नहुँदा यो परिमाणमा बर्सेनि आलु र प्याज चीन, भारत, बङ्गलादेश, इन्डोनेसिया, बेल्जियम, मलेसिया र अमेरिकाबाट आयात हुँदै आएको छ ।

Untitled
Untitled
Untitled