२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भ्रष्टाचार मुद्दामा चूडामणि शर्मासहित तीनजना दोषी ठहर

Untitled
Untitled
Untitled

काठमाडौ, आन्तरिक राजश्व विभागका तात्कालीन महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ।

विशेषले बिहीबार सहसचिव शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

बिहीबार भएको सुनुवाइपछि इजलास नं। १ का न्यायाधीश एवम् विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीश यमुना भट्टराई र न्यायाधीश शालिग्राम कोइरालाको इजलासले उनीहरुलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

उनीहरुले कर फर्स्योट आयोगमा कार्यरत रहेका बेला अनियमितता गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो।

उनीहरु तीनजनाविरुद्ध अख्तियारले १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवाना मागदाबीसहित मुद्दा चलाएको थियो।

उक्त मुद्दामा शर्मासँगै कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध अख्तियारले तीन वर्षअघि मुद्दा दायर गरेको थियो।

उनीहरुले बदनियतपूर्वक १० अर्ब रुपैयाँभन्दा बढी रकम अनधिकृत रुपमा कर छुट तथा मिनाहा गरी गैरकानुनीरुपमा सरकारलाई नोक्सानी पुर्‍याएको आरोप थियो।

त्यसबेला अख्तियारले कूल बिगोको रुपमा १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ दाबी गरेको थियो।

उनीहरुविरुद्ध राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दा पनि चलेको थियो। राजश्व चुहावट मुद्दामा भने उनीहरु दोषी ठहर भएका छन्।

तर विशेषले शर्मासहित तीनैजनालाई गैरकानुनी सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ।

दोषी ठहर तीनैजनाको सजाय अब जेठ २५ गते निर्धारण गर्ने गरी पेशी तोकिएको विशेष अदालतले जनाएको छ।

Untitled
Untitled
Untitled