२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भारतीय लगानीकर्तालाई खुला हृदयले लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह

Untitled
Untitled
Untitled

नयाँ दिल्ली, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको ‘बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् ।

सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताए ।

उनले सरकारले लगानीकर्ताको हितका लागि एकल बिन्दू सेवा केन्द्र, लगानीमैत्री कानून तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गरे ।

निजी क्षेत्रलाई बलियो र शक्तिशाली सहयोगीका रूपमा सरकारले साथमा लिएर जाने प्रतिबद्धता गरेको तथा सोही अनुसारको वातावरणसमेत बनाएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भारतीय कम्पनीले नेपालमा गरेको लगानीले दिएको प्रतिफलबारे जानकारी गराएका थिए ।

नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उनले नेपालमा लगानीबाट प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं जनस्तरको सम्बन्धले थप सहज बनाउने स्पस्ट पारे ।

भारतीय कम्पनीको लगानी रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफल रूपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पश्चिम सेती, सेती नदी ९एसआर ६०, तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताए ।

नेपाल र भारतबिचको सम्बन्ध कोही कसैसँग तुलना नै हुन नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास र नेपालको समुन्नतिका लागि आफूहरू मिलेर अगाडि बढ्नुपर्ने जिकिर गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका सङ्घीयमन्त्री पीयूष गोयलले नेपाल र भारतबिचको सम्बन्ध अद्वितीय रहेको बताए ।

सीमा, भूराजनीतिले दुई देशबिचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गर्दै उनले आफूहरू एकै परिवारका सदस्यका रूपमा रहेको जनाए ।

उेनले भारतीय प्रधानमन्त्री दाहालले अगाडि सारेको छिमेक पहिले नीतिका साथ नेपाल र भारतबिच साझा दृष्टिकोणका साथ समृद्धिको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

भारतका लागि नेपालका राजदूत

शङ्करप्रसाद शर्माले व्यापार र वाणिज्यका लागि आज भएको सहमति आफैँमा महत्वपूर्ण भएको बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जस्तो ठुलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट रहेको पारे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीको सफल उदाहरण पेस गर्दै नेपाल र भारतका उद्योगी व्यवसायीको साझा सहकार्यका लागि आग्रह गरे ।

भारतीय उद्योग परिसङ्घका सभापति आर दिनेशले नेपाल र भारतका उद्योगी व्यवसायीबीच साझा दृष्टिकोण निर्माण गरेर अगाडि बढ्न छलफल महत्वपूर्ण भएको बताए ।

रासस

Untitled
Untitled
Untitled