काभ्रे, जनआन्दोलन ०६२/६३ मा घाइते ‘ज्यूँदो शहीद’ बनेपाका मुकेश कायस्थको निधन भएको छ ।
उनको उपचारको क्रममा बनेपास्थित शिर मेमो रियल अस्पतालमा बुधवार साँझ ६ः१८ बजे मृत्यु भएको हो ।
१८ वर्ष अघि अर्थात् वि सं. ०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय घाइते भएका थिए ।
वि.सं. २०६२ साल चैत २६ गते काभ्रेपलान्चोकको उग्र चण्डी नालाका भीमसेन दाहालको पोखरामा गोली लागेर मृत्यु भएपछि दाहालको शव जिल्लामा ल्याउने तयारी भएर आन्दोलन चर्किएको बेलामा मुकेश साथीहरूसँग आन्दोलनमा सहभागी भएका थिए ।
जनआन्दोलनका क्रममा घाइते हुनु भएको मुकेशलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।
उपचारका लागि अस्पताल भर्ना भएका मुकेशलाई निमोनिया समेत देखिएको परिवार स्रोतले जनाएको छ । उपचारका क्रममा मृत्यु भएका ज्यूँदो शहीद मुकेशको शव राति नै घरमा ल्याइएको छ ।
मुकेशका गुठियार, प्रतिष्ठानको पदाधिकारी भेला भएपछि गुठियार र प्रतिष्ठानले शवको दाह संस्कारको विषयमा निर्णय गर्ने जनाइएको छ ।
जनआन्दोलनका क्रममा घाइते भई ओछ्यानमा नै भएका मुकेशलाई वीर अस्पतालमा ११ महिना उपचार गराएर मुकेशलाई ०६३ फागुन ११ गते घर ल्याइएको थियो ।
उनलाई विभिन्न समयमा विभिन्न समस्या देखा परेपछि वीर अस्पताल, अन्नपूर्ण न्यूरो, मेडिसिटी, स्पार्क हेल्थ होमलगायतका अस्पतालहरुमा उपचार गरिएको थियो ।
२०७६ सालमा सिजर(छारे रोग) जस्तो देखा परेर मस्तिष्कको नशाले काम नगरेपछि अप्रेसन समेत गरिएको थियो ।
सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपियाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपियाँको व्यवस्था गरेको थियो ।
जनआन्दोलनमा घाइते भएका मुकेशको परिवारलाई सरकारले क्षतिपूर्ति बापत सुरुमा साढे नौ लाख, मह जोडीले सुरु गरेको जनआन्दोलन कोषबाट दुई लाख, विभिन्न सङ्घसंस्था र राजनीतिक संयन्त्रबाट समेत सहयोग प्राप्त भएको थियो भने पछि सरकारले पुनः साढे सात लाख दिएको थियो ।
माधव नेपाल नेतृत्वको सरकारले जीवन निर्वाह भत्ता ४ हजारबाट बढाएर मासिक १० हजार पुर्याएको थियो ।
झालनाथ खनाल नेतृत्वको सरकारले बैङ्कको साढे सात लाख ऋण मिनाहा गर्नुको साथै मुकेशको स्वास्थ्य अवस्था हेर्न एक जना अनमीको व्यवस्था समेत गरेको थियो ।
त्यस्तै बाबुराम भट्टराई नेतृत्वको सरकारले मुकेशको स्याहार सुसार गर्नका लागि मानिस राख्नका लागि मासिक छ हजार दुई सय उपलब्ध गराएको थियो ।
खिलराज रेग्मी नेतृत्वको सरकारले जीवन निर्वाह भत्ता दश हजारबाट बढाएर १५ हजार पुर्याएको थियो ।


































