२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

प्रधानमन्त्री रोजगार कार्यक्रमले गति लिएन, कहीँ अझै सुरु हुन सकेन

Untitled
Untitled
Untitled

रामेछाप, चालू आर्थिक वर्षको १० महिना बित्नै लागेको छ तर रामेछापका स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमले गति लिन सकेको छैन ।

रामेछाप जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा यो कार्यक्रमको गति सुस्त छ भने पुरानो सदरमुकाम रामेछाप नगरपालिकाका केही वडाले यो कार्यक्रमका लागि अझै सम्झौतासमेत गरेका छैनन् ।

लिखुतामाकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि कार्यालय र कर्मचारी व्यवस्थापन गरिए पनि अझै बेरोजगार सूचीकृतका लागि आवेदन लिनेबाहेकका काम हुन सकेको छैन ।

केही योजना सम्पन्न

१४ वटा वडा रहेको मन्थली नगरपालिकामा अहिलेसम्म वडा नं.–८ को चिसापानीमा मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित योजना सम्पन्न भएको छ ।

मन्थली नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक रक्षित रेग्मीले बाँकी वडाका योजना पनि आगामी जेठ १५ गतेसम्म सकिने जानकारी दिए ।

वडा नं.–४ र वडा नं–१४ मा पनि काम सकिएको जानकारी आएको उनले जानकारी दिए ।

मन्थली नगरपालिकामा आव। २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४२ लाख ९७ हजार रुपियाँ ससर्त अनुदान प्राप्त भएको छ ।

यो वर्ष नगरपालिकाको सबै वडामा गरी ४७६ जना बेरोजगार व्यक्तिमा सूचीकृत भएका छन् ।

नगरपालिकालाई प्राप्त बजेटलाई हेर्दा नगरका सबै वडाका गरी ७४ जना सूचीकृत बेरोजगार व्यक्तिले एक सय दिनको न्यूनतम रोजगारी पाउने अनुमान लगाउन सकिन्छ ।

सम्झौता नै भएन

रामेछाप नगरपालिकाका केही वडाले त अहिलेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने योजनाको सम्झौतासमेत गरेका छैनन् ।

रामेछाप नगरपालिका–१ र ७ ले अहिलेसम्म योजना सम्झौता नै नगरेको नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक सहायक सोनिका तामाङले जानकारी दिए ।

“रामेछाप नगरपालिकाको पाँचवटा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन भएका योजना सम्पन्न भइसकेका छन्, वडा नं.–१ र ७ ले अझै सम्झौता नै नगरेकाले ती वडालाई ताकेता गरिरहेका छौँ,” उनले बताए ।

रामेछाप नगरपालिकामा चालु आर्थिक वर्षमा सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चितताका लागि प्राप्त भएको ४७ लाख ९७ हजार रुपियाँ बजेटबाट ७३ जना बेरोजगारलाई एक सय दिनको रोजगारी प्रदान गरिने उनले बताए ।

चालू आर्थिक वर्षमा यो नगरपालिकामा ६११ जना व्यक्ति बेरोजगार सूचीकृत भएका छन् ।

आवेदन लिने काम मात्र

जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अझै सञ्चालन हुन सकेको छैन ।

गाउँपालिकाले यो कार्यक्रम सञ्चालनका लागि कार्यालय र कर्मचारीको व्यवस्थापन गरे पनि बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी दिन सकेको छैन ।

लिखुतामाकोशी गाउँपालिकाले बेरोजगार सूचीकृत हुन आवेदन सङ्कलन गरेर पठाउनेबाहेकका अन्य काम अहिलेसम्म नगरेको गाउँपालिकाकी रोजगार सहायक ममिता तामाङले बताए ।

“लिखुतामाकोशी गाउँपालिकामा बेरोजगार सूचीकृतका लागि परेको ६०६ जनाको आवेदन सङ्कलन गरेर सम्बन्धित ठाउँमा पठाएका छौँ, यसबाहेक अरू काम भएको छैन,” उनको भनाइ छ ।

सुनापति गाउँपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २१ वटा योजना सम्पन्न हुनुपर्ने हो । यो गाउँपालिकामा एक लाख ७० हजार रुपियाँदेखि दस लाख रुपियाँसम्मका योजना छन् ।

सुनापति गाउँपालिकाको वडा नं.–१ र ५ मा योजना सम्पन्न भएर भुक्तानी भइसकेको र यी दुई वडामा नौ जना बेरोजगार सूचीकृत व्यक्तिले एक सय दिनको रोजगारी पाएको रोजगार संयोजक कर्ण रसाइलीले बताए ।

उनका अनुसार सुनापति गाउँपालिकामा यो वर्ष रोजगारी सिर्जनका लागि ४२ लाख रुपियाँ बजेट प्राप्त भएको छ ।

‘सुनापति गाउँपालिकामा चालू आर्थिक वर्षमा ४०८ जना बेरोजगार सूचीकृत भएका छन्, यसबाट यो वर्ष ६६ जनाले एक सय दिनको रोजगारी पाउँछन्,” उनले भने ।

यो गाउँपालिकामा बेरोजगार सूचीकृत नागरिकलाई सडक, वातावरण संरक्षण, खानेपानीलगायतका क्षेत्रमा परिचालन गरिएको छ ।

दोरम्बा सैलुङ गाउँपालिकाले यो वर्ष बेरोजगार सूचीकृत भएका ११३ जनामध्ये ५१ जनालाई प्रधानमन्त्री रोजगार कार्यव्रmममार्फत एक सय दिनको रोजगारी दिने लक्ष्यका साथ काम गरिरहेको छ ।

यो गाउँपालिकालाई आव २०७९/८० मा सूचीकृत बेरोजगारलाई रोजगारीका लागि ३२ लाख ९७ हजार रुपियाँ बजेट प्राप्त भएको छ ।

सात वटा वडा रहेको यो गाउँपालिकामा एक वडा एक योजना सम्पन्न हुनु पर्नेमा अहिलेसम्म तीन वटा योजना सम्पन्न भएर भुक्तानी भइसकेको गाउँपालिकाका रोजगार संयोजक भोला पाठकले बताए ।

दोरम्बा सैलुङ गाउँपालिकाले बेरोजगार सूचीकृत नागरिकलाई सडक पूर्वाधार विकासका क्षेत्रमा परिचालन गरेको छ ।

धेरै बेरोजगार गोकुलगङ्गामा

रामेछाप जिल्लाको आठवटा स्थानीय तहमध्ये सबभन्दा बढी गोकुलगङ्गा गाउँपालिकामा बेरोजगार सूचीकृत भएका छन् ।

यो गाउँपालिकामा चालू आर्थिक वर्षमा रोजगारीका लागि एक हजार ८२७ जना नागरिक बेरोजगार सूचीकृत भएका छन् ।

यो गाउँपालिकालाई सूचीकृत बेरोजगारलाई एक सय दिनको रोजगारी सिर्जनका लागि यो वर्ष ९६ लाख ४७ हजार बजेट प्राप्त भएको गाउँपालिकाका रोजगार संयोजक पर्शुराम कार्कीले बताए ।

उनका अनुसार गोकुलगङ्गा गाउँपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगारमार्फत एक लाख २० हजार रुपियाँदेखि दस लाख रुपियाँसम्मका ३० वटा योजना सम्पन्न हुनुपर्ने छ ।

छ वटा वडा रहेको यो गाउँपालिकामा अहिलेसम्म वडा नं.–१, ४ र ६ मा योजना सम्पन्न भएर भुक्तानीसमेत भइसकेको छ ।

सूचीकृत बेरोजगारलाई सडक, खेल मैदान र पर्यटन पूर्वाधार विकासका काममा परिचालन गरिएको छ ।

यस्तै जिल्लाको खाँडादेवी गाउँपालिकामा यो वर्ष ७८२ जना नागरिक बेरोजगार सूचीकृत भएका छन् तर गाउँपालिकालाई जम्मा ८५ जना बेरोजगारलाई एक सय दिनको रोजगारी दिन सक्ने ५४ लाख ९७ हजार रुपियाँ बजेट प्राप्त भएको छ ।

खाँडादेवी गाउँपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १५ वटा योजना सम्पन्न हुनुपर्नेमा अहिलेसम्म चार वटा वडाका पाँच वटा योजना सम्पन्न भएर भुक्तानी भइसकेको गाउँपालिकाका रोजगार संयोजक विपिन केसीले बताए ।

“खाँडादेवी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यो वर्ष १५ वटा योजना सम्पन्न हुनुपर्छ, यसमा अहिलेसम्म वडा नं.–१,२ ७ र ९ का पाँच वटा योजना सम्पन्न भई भुक्तानीसमेत भइसकेको छ,” उनले भने ।

Untitled
Untitled
Untitled