२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

सवारी चालक लाइसेन्समा ७० अङ्कभारको व्यवस्थापछि उत्तीर्ण हुनेको सङ्ख्या २० प्रतिशत वृद्धि

Untitled
Untitled
Untitled

काठमाडौँ, बागमती प्रदेशमा ७० अङ्कभारको नियम लागू भएसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा उत्तीर्ण हुनेको सङ्ख्या बढेको छ ।

श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी देवराज चौलागाँइका अनुसार ७० अङ्कभारको व्यवस्था गरेपछि उत्तीर्ण हुनेको सङ्ख्या २० प्रतिशतले बढेको छ ।

पहिले ३० देखि ३५ प्रतिशत मात्र उत्तीर्ण हुने गरेकोमा यो नियम लागू भएपछि ५० देखि ५५ प्रतिशत उत्तीर्ण भएको उनको भनाइ छ ।

उनले भने “नियम जारी नहुँदासम्म उत्तीर्ण हुनेको प्रतिशत ३० देखि ३५ प्रतिशत थियो । तर, यो व्यवस्था लागू भएदेखि उत्तीर्ण हुनेको सङ्ख्या २० प्रतिशत बढेर ५० देखि ५५ प्रतिशत पुगेको छ ।”

गत फागुन २ गतेदेखि बागमती प्रदेशमा ७० प्रतिशत अङ्कभारको व्यवस्था लागू गरिएको हो । यसअघि पाँच प्रदेशमा ७० प्रतिशत अङ्कभार लागू भए पनि बागमती प्रदेश र कर्णाली प्रदेशमा लागू भएको थिएन ।

यो अङ्कभार लागू गरेपछि फारम भर्नेको सङ्ख्या पनि बढ्ने देखिएको उनको भनाइ छ । उनले भने , “नयाँ नियम लागू भएपछि लाइसेन्सका लागि फारम भर्नेको सङ्ख्या बढ्ने देखिन्छ ।

धेरै सेवाग्राहीले फारम भर्नका लागि सोधपुछ गरिरहेका छन् ।” तर, अहिले दैनिक निश्चित कोटा निर्धारण गरेर मात्र फारम खुलाउने गरिएकाले निश्चित सेवाग्राही मात्र लिन सकिएको चौँलागाइले बताए ।

लाइसेन्सका लागि दिनुपर्ने ट्रायल (प्रयोगात्मक परीक्षा)मा सानो त्रुटिले पनि पास नहुने समस्याको अन्त्यका लागि २०७७ सालमै सङ्घीय सरकारले कार्यविधि ल्याएको थियो ।

तर, अन्य प्रदेशमा लागू भए पनि बागमती र कर्णाली प्रदेशमा सो नियम लागू हुन सकेको थिएन ।

तर, दबाबपछि फागुन १ गतेदेखि यो नियम लागू भएको हो । यातायात व्यवस्था विभागले ०७७ मा ‘सवारी चालक अनुमति पत्र वितरण कार्यविधि, २०७७’ जारी गरेको थियो । यस कार्यविधिलाई अङ्कमा आधारित कार्यविधि पनि भन्ने गरिएको छ ।

यस कार्यविधि लागू भएपछि मोटरसाइकल तथा चार पाङ्ग्रे यातायातको ट्रायलका ७० प्रतिशत अङ्क ल्याए पुग्छ । तर, उकालो र ओरालोमा भने शतप्रतिशत अङ्क ल्याउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

के छ नयाँ व्यवस्थामा ?

विभागले जारी गरेको नयाँ निर्देशिका अनुसार केही ठाउँमा बाहेक अन्य ठाउँका सामान्य त्रुटि गरे सामान्य अङ्क मात्र काटिने व्यवस्था छ । उकालो ,ओरालोमा भने केही त्रुटि भइहाले सिधै फेल भइनेछ ।

घुमाउरो आठमा एक पटकसम्म भुईँमा टेकेमा वा एक पटक अङ्कित रेखामा छोएमा २० अङ्क कट्टा हुनेछ । घुमाउरो आठमा एक पटकभन्दा बढी रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा र ठिक दिशाबाट वा ठीक तरिकाबाट आठ नबनाएमा वा सवारीको स्टार्ट बन्द भएमा अङ्क नकाटी सिधै फेल भइनेछ ।

आठ कटाइसकेपछि साँघुरो फलेकमा प्रवेश पाइने छ । जहाँ अङ्क कट्टीको छुट छैन । यहाँ खुट्टाले टेकेमा, फलेकको लम्बाई पार गर्नु अगावै सवारी फलेकबाट बाहिर निस्केमा स्वतः फेल भइनेछ ।

फलेक कटाइसकेपछि यु टर्नमा पुगिनेछ । यसमा टर्निङ् इन्डिकेटर लाइट नबालेमा १० अङ्क काटिनेछ । यु टर्नको क्रममा अङ्कित रेखा छोएमा फेल भइनेछ ।

यु टर्न पार गरेपछि ट्राफिक सङ्केत भएको ठाउँमा पुगिनेछ । यहाँ ट्राफिक सङ्केतको पालना नगरेमा १५ अङ्क काटिनेछ ।त्यहाँ सिधै फेल भने भइनेछैन ।

त्यसपछि बम्प्स (उबड खाबड ) मा पुगिनेछ । यहाँ एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा वा एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा पाँच पाँच अङ्क काटिनेछ । तर पुनः खुट्टा टेकेमा वा स्टार्ट पुनः बन्द भएमा फेल भइनेछ ।

त्यसपछि उकालोमा पुगिनेछ । यसमा गल्ती गरे अङ्क कट्टा हुनेछैन । तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र एक पटकभन्दा बढी सवारीको स्टार्ट बन्द भएमा फेल भइनेछ ।

अन्त्यमा परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनका लागि १० अङ्क छोट्ट्याइएको छ ।

जहाँ सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अङ्क, हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अङ्क र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ अङ्क काटिनेछ ।

समग्र १०० अङ्कमध्ये ७० अङ्क प्राप्त गरे उत्तीर्ण हुने प्रावधान छ ।

Untitled
Untitled
Untitled