२०८३ जेठ ३१ आइतवार | Sunday, Jun 14 2026

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

Untitled
Untitled
Untitled

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले आज दोस्रोपटक प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । उनले दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

यसअघि दाहालले २६ पुसमा विश्वासको मत लिएका थिए । त्यतिबेला संसद् बैठकमा उपस्थित २७० सांसदमध्ये दाहालले २६८ मत पाएका थिए ।

तात्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलेसमेत दाहाललाई विश्वासको मत दिएका थिए । अहिले भने सत्ता समीकरण फेरिएको छ ।

एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिएपछि दाहालले पुनः विश्वासको मत लिन लागेका हुन् । समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मतका लागि दाहालले कम्तीमा १३८ मत पाउनुपर्छ । नेकपा एमाले, राप्रपा, नेमकिपा र एकजना स्वतन्त्र सांसद योगेन्द्र मण्डल विश्वासको मतको विपक्षमा रहेका छन् ।

त्यसका बाबजुद पनि अहिलेको सत्ता समीकरणको अवस्था हेर्दा दाहालले विश्वासको मत पाउने निश्चितजस्तै छ ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले विश्वासको मत दिने तयारी गरेका छन् ।

Untitled
Untitled
Untitled