२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

साइबारीको चाँडो गोल निर्णायक, स्कटल्यान्डमाथि मोरक्कोको जीत

Untitled
Untitled
Untitled

एजेन्सी, फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा मोरक्कोले स्कटल्यान्डमाथि १–० को कठिन जीत निकाल्दै नकआउट चरणतर्फ आफ्नो यात्रा थप मजबुत बनाएको छ।

बोस्टन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले सुरुमै गरेको गोल नै निर्णायक सावित भयो।

पहिलो खेलमा बलियो ब्राजिलसँग बराबरी खेलेर सबैलाई चकित पारेको मोरक्कोले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन दोहोर्‍याउँदै ४ अंक जोडेको छ।

स्कटल्यान्ड भने पहिलो खेलमा हाइटीलाई हराए पनि दोस्रो खेलमा हार भोग्दै ३ अंकमा रोकिएको छ। खेलको सुरुवातमै मोरक्कोले आक्रामक संकेत दिएको थियो।

मात्र ७१ सेकेन्डमै स्कटल्यान्डको रक्षापंक्तिको त्रुटिको फाइदा उठाउँदै इस्माइल साइबारीले गोल गरे र टोलीलाई अग्रता दिलाए।

तीव्र सुरुवातले खेलको गति नै मोरक्कोको पक्षमा मोडिएको थियो।

स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लार्कले अघिल्लो खेलपछि टोलीमा केही परिवर्तन गर्दै कियरन टियर्नीलाई बायाँ मिडफिल्डमा प्रयोग गरेका थिए।

तर, मोरक्कोका कप्तान असरफ हाकिमीलाई रोक्ने रणनीति प्रारम्भमै असफल बन्यो, किनभने रक्षापंक्तिको असमझदारीले नै गोलको बाटो खोलिदियो।

गोलपछि मोरक्कोले खेलको नियन्त्रण आफ्नो हातमा राख्यो भने स्कटल्यान्डले पनि बराबरी खोज्ने प्रयास जारी राख्यो।

पहिलो हाफको अन्त्यतिर जोन म्याकगिनले राम्रो अवसर पाएपनि उनको प्रहार लक्ष्यभन्दा बाहिर गयो।

दोस्रो हाफमा स्कटल्यान्डले खेलमा फर्किने प्रयास तीव्र बनायो। केही विवादास्पद क्षणमा पेनाल्टीको माग भएपनि रेफ्रीले अस्वीकार गरे।

मोरक्कोले भने काउन्टर अट्याकमार्फत दोस्रो गोल गर्ने अवसर खोजिरह्यो।

स्कटल्यान्डका गोलकिपर एङ्गस गन र डिफेन्डर ज्याक हेन्ड्रीको उत्कृष्ट रक्षात्मक प्रदर्शनले हारको अन्तर ठूलो हुनबाट जोगायो।

बिलाल एल खान्नुसको खतरनाक प्रहारलाई पनि गनले शानदार बचाउ गरे। अन्ततः प्रारम्भिक गोल नै निर्णायक बन्दा मोरक्कोले महत्वपूर्ण तीन अंक जोड्यो।

यस नतिजासँगै समूह ‘सी’ को अंकतालिका अझ प्रतिस्पर्धात्मक बनेको छ भने स्कटल्यान्डका लागि अब ब्राजिलविरुद्धको अन्तिम खेल ‘गर या मर’ स्थितिमा पुगेको छ।

Untitled
Untitled
Untitled