काठमाण्डौ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने औपचारिक भ्रमणका लागि आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्दैछन्।
कार्यक्रमअनुसार मन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नेछन्।
भेटमा व्यापार विस्तार, पूर्वाधार विकास, लगानी प्रवर्द्धन, विकास साझेदारी तथा क्षेत्रीय स्थायित्वजस्ता मुद्दामा विचार आदान–प्रदान हुने अनुमान गरिएको छ।
उनले चीनका अन्य सरकारी उच्च अधिकारीहरूसँग पनि अलग–अलग छलफल गर्ने कार्यक्रम रहेको छ।
यो भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई अझ गहिरो र व्यवहारिक बनाउनका साथै कूटनीतिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।
पछिल्ला वर्षहरूमा बदलिँदो क्षेत्रीय परिस्थिति र आर्थिक प्राथमिकताबीच यो भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ गति दिने अपेक्षा गरिएको छ।
भ्रमणको अर्को महत्वपूर्ण पक्षका रूपमा बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनलाई लिइएको छ।
उक्त कार्यक्रममा मन्त्री खनालले चिनियाँ निजी क्षेत्रका लगानीकर्ता तथा उद्यमीहरूसँग सीधा संवाद गर्दै नेपालमा उपलब्ध लगानी अवसर र नीतिगत सुधारबारे प्रस्तुति दिनेछन्।
त्यसैगरी दूतावासले आयोजना गर्ने स्वागत समारोहलाई औपचारिक मात्र नभई सांस्कृतिक कूटनीति सुदृढ गर्ने अवसरका रूपमा समेत हेरिएको छ।
सो अवसरमा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

































