२०८३ जेठ ३१ आइतवार | Sunday, Jun 14 2026

देशभर मौसम प्रणाली सक्रिय, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डौ । देशको मौसम प्रणालीमा हाल पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको मिश्रित प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ।

मधेश प्रदेशमा आंशिक बदली देखिएको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

दिउँसोको पूर्वानुमानअनुसार कोशी प्रदेश तथा देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ।

पहाडी भू–भाग र मधेश, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने र अन्य तराई क्षेत्रमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

बागमती, गण्डकी र मधेश प्रदेशका केही तराई क्षेत्र तथा एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको मौसम पूर्वानुमानमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।

मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले मेघगर्जन, चट्याङ तथा सम्भावित वर्षाजन्य जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Untitled
Untitled
Untitled