काठमाण्डौ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र पूर्वीय वायुको संयुक्त प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ।
यस प्रभावले देशका विभिन्न भू–भागमा बदली तथा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।
तराई क्षेत्रका केही भागमा भने आंशिक बदली देखिएको छ।
हाल कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा बादलको प्रभाव रहने अनुमान गरिएको छ।
तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाले कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मेघगर्जन, चट्याङ र हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिइएको छ।

































