काठमाण्डौ । देशभरको मौसममा पश्चिमी वायु प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव कायम रहँदा आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानअनुसार आकाश सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाएको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा वर्षासहित उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ।
बुधबार देशका अधिकांश भू-भागमा हल्का वर्षा भएको र आगामी केही दिनसम्म मौसम आंशिक अस्थिर रहने संकेत देखिएको विभागले जनाएको छ।
मौसममा आउने परिवर्तनलाई ध्यानमा राख्दै विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने र कृषिकर्ममा संलग्न नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
































