२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

ओलाङचुङ्गोला–टिप्ताला नाका पुनः सञ्चालन, सीमा व्यापारमा नयाँ आशा

Untitled
Untitled
Untitled

ताप्लेजुङ, चीनको तिब्बत स्वशासित क्षेत्रसँग जोडिएको ओलाङचुङ्गोला–टिप्ताला नाका लामो समयको अवरोधपछि पुनः सञ्चालनमा आएको छ ।

कर्मचारी व्यवस्थापनसँगै भन्सार कार्यालय सक्रिय बनेपछि बन्द अवस्थामा रहेको सीमा व्यापारिक गतिविधि पुनः सुरु हुने संकेत देखिएको छ ।

कोभिड–१९ महामारीपछि लामो समय निष्क्रिय रहेको यो नाका सुरुवाती चरणमा स्थायी जनशक्ति अभावका कारण स्थानीय सहयोगीमार्फत सीमित रूपमा सञ्चालन हुँदै आएको थियो ।

तर, महामारीपश्चात पूर्ण रूपमा बन्द भएको भन्सार कार्यालय हाल नयाँ जनशक्ति खटाइएपछि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिएका छन् ।

नायब सुब्बा प्रदीप धिताललाई भन्सार प्रमुखको जिम्मेवारी दिइएसँगै नाकामा नियमित प्रशासनिक सेवा पुनः शुरु भएको छ ।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार लामो समयपछि सीमा नाका सक्रिय हुँदा क्षेत्रीय आर्थिक चहलपहल बढ्ने र परम्परागत व्यापारिक सम्बन्ध पुनर्जीवित हुने अपेक्षा गरिएको छ ।

ओलाङचुङ्गोला–टिप्ताला नाका पूर्वी नेपाललाई चीनको तिब्बत क्षेत्रसँग जोड्ने सबैभन्दा छोटो व्यापारिक मार्गमध्ये एक मानिन्छ ।

ओलाङचुङ्गोलाबाट करिब २४ किलोमिटर दूरी पार गरेपछि नेपाल–चीन सीमा टिप्ताला नाकासम्म पुगिन्छ, जसले यस नाकालाई रणनीतिक मात्र होइन, आर्थिक दृष्टिले पनि महत्वपूर्ण बनाएको छ ।

स्थानीयका अनुसार करिब चार दशकअघि निर्माण गरिएको भन्सार कार्यालयको भवन जीर्ण अवस्थामा पुगेको छ, जसले सेवा प्रवाहमा भौतिक चुनौती थपिरहेको छ ।

भौतिक संरचना सुधार र उपकरण व्यवस्थापनका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा कार्यालय स्तरोन्नतिको आवश्यकता औंल्याउँदै सम्बन्धित निकायसँग पहल गरिएको वडाध्यक्ष लामाले बताएका छन् ।

यसैबीच, भन्सार कार्यालयमा स्थायी कर्मचारी खटाउनुपर्ने माग गर्दै स्थानीय युवा तथा जेनजी अभियन्ताहरूले विभागीय तहमा दबाब बढाउँदै आएका थिए ।

सडक सञ्जाल विस्तारसँगै नाका पुनः सक्रिय हुँदा सीमापार व्यापार, राजस्व संकलन र स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

Untitled
Untitled
Untitled