लिस्बोन: नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा पोर्चुगलको लिस्बोनमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। महासंघको युरोप शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा “युरोपमा नेपाली पत्रकारितामा युरोप शाखा र केन्द्रको भूमिका र दायित्व” विषयमा व्यापक छलफल तथा बहस गरिएको थियो।
कार्यक्रममा अध्यक्ष शर्माले विदेशमा रहेर नेपाली पत्रकारितालाई निरन्तरता दिन पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै युरोपमा क्रियाशील पत्रकारहरूलाई अझ संगठित, जिम्मेवार र व्यावसायिक बन्न आग्रह गर्नुभयो। उहाँले प्रवासमा नेपाली भाषा, कला, संस्कृति र समुदायका आवाजलाई सञ्चारमाध्यममार्फत विश्वसामु पुर्याउन पत्रकारहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो। साथै, पत्रकारितामा विश्वसनीयता, निष्पक्षता र व्यावसायिक आचरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी पत्रकारहरूले युरोपमा नेपाली पत्रकारिताले भोगिरहेका चुनौती, अवसर तथा संस्थागत सहकार्यका विषयमा आफ्ना धारणा राखेका थिए। सहभागीहरूले प्रवासमा पत्रकारितालाई थप प्रभावकारी बनाउन महासंघ केन्द्र र शाखाबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताएका थिए।
युरोप शाखाका उपाध्यक्ष बासु सत्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका उपमहासचिव रमेशराज बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शाखा सदस्य मुना सुनुवारले गर्नुभएको थियो।
कार्यक्रममा पोर्चुगलमा रहेका नेपाली पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता अन्तरक्रिया कार्यक्रमले पत्रकारहरूबीच अनुभव आदानप्रदान, पेशागत एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

































