२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बिदा विवादले दबाबमा अस्पताल, आइतबार काम गर्न नसकिने चिकित्सक संघको भनाइ

Untitled
Untitled
Untitled

काटमाण्डू, सातामा दुई दिन बिदा दिने सरकारी निर्णय स्वास्थ्य क्षेत्रमा विवादित बनेको छ।

आइतबार सेवा सञ्चालन गर्ने कि नगर्ने भन्ने भन्ने दवावमा अस्पताल छन् भने काठमाडौँकै दुई वटा अस्पतालको निर्णय बाँझिएको छ।

मन्त्रिपरिषद्को चैत २२ गतेको बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गर्‍यो। दुई दिने सार्वजनिक बिदा अस्पतालमा पनि लागू हुने जनाएको थियो।

तर, एक साता नबिन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को परिपत्र गर्‍यो। एकाएक चैत २७ मा विज्ञप्ति जारी गरी स्वास्थ्य मन्त्रालयले आइतबार सेवा सुचारु राख्न निर्देशन दियो।

स्वास्थ्य मन्त्रालयको यो निर्देशनसँगै देशभरका स्वास्थ्य संस्था दवावमा परेका छन्। चिकित्सक आक्रोसित भएका छन्।

कतिपय अस्पतालले आइतबार सेवा दिने निर्णय गरेका छन् भने कतिपय अस्पताल बन्द रहने भएका छन्।

त्रिवि शिक्षण अस्पतालले आइतबार सेवा सञ्चालन गर्नुपर्ने शिक्षा मन्त्रालयको निर्देशन नमान्ने भएको छ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार भन्दै शिक्षण अस्पतालले आइतबार सम्पूर्ण कार्यालयहरू बन्द रहने जनाएको छ।

शिक्षण अस्पतालले चैत २६ मा नै आकस्मिकबाहेकका सेवा बन्द भएको सूचना निकालेको थियो। स्वास्थ्य मन्त्रालयले भने आइतबार सञ्चालन गर्न सबै अस्पताललाई निर्देशन दिएको थियो।

मन्त्रालयको निर्देशनपछि पनि शिक्षण अस्पतालले ओपीडी तथा प्रशासनिक सेवाहरू आइतबार पूर्ण रूपमा बन्द रहने जनाएको छ।

अस्पतालले जारी गरेको सूचनामा आइतबार आकस्मिक (इमर्जेन्सी) सेवा भने निरन्तर सञ्चालनमा रहने उल्लेख छ।

यता वीर अस्पतालले भने आइतबार सबै सेवा सुचारु राख्ने भएको छ। वीरले चैत २७ मा सूचना प्रकाशन गरी आइतबारदेखि शुक्रबारसम्म ९ देखि ५ बजेसम्म सबै सेवा दिने जनाएको छ।

स्वास्थ्य मन्त्रालयको निर्णय जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने नमान्ने भएको छ।

प्रतिष्ठानले शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।

चैत २७ मा सूचना प्रकाशन गरी जनशक्ति अभावका कारण आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसक्ने जनाएको हो।

‘अस्पतालमा ओपीडी सेवा सञ्चालनको सम्बन्धमा प्रतिष्ठानको मौजुदा जनशक्ति अभावका कारण साविक निर्णय बमोजिम शनिबार र आइतबार दुवै दिन ओपीडी सेवा बन्द रहने जानकारी गरिएको छ,’ प्रतिष्ठानले जारी गरेको सूचनामा भनिएको छ।

यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालले भने आइतबार पाँच घण्टा मात्र सेवा दिने निर्णय गरेको छ।

अस्पतालले आइतबार बिहान ९ देखि दिउँसो १ बजेसम्म ओपीडी सेवा खुलाउने र प्रशासन भने बन्द गर्ने निर्णय गरेको हो।

आइतबार काम गर्ने चिकित्सकलाई सट्टा बिदा दिने अस्पतालले जनाएको छ।

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालमा भने आइतबार सेवा सञ्चालन हुने भएको छ।

चिकित्सकदेखि सम्पूर्ण कर्मचारीलाई सातामा दुई दिन बिदा दिँदै आएको पाटन अस्पतालले आइतबार सेवा सुचारु राख्ने बताएको हो।

अस्पतालका निर्देशक डा. रवी शाक्यले अस्पतालको स्थापना कालदेखि नै शनिबार र बुधबार सार्वजनिक दिने प्रावधान भएकाले आइतबार सेवा सञ्चालनमा राख्ने बताए।

‘हामीले पहिल्दैदेखि हप्तामा दुई दिन बिदा दिने गरेका छौँ। त्यसकारण आइतबार सेवा सुचारु राख्छौँ,’ निर्देशक शाक्यले भने। पाटन अस्पतालले बुधबार विशेषज्ञ सेवा बन्द गरे पनि जर्नरल ओपीडी भने सञ्चालन गर्दै आएको छ।

मन्त्रालयको निर्णय चिकित्सक संघले नमान्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई सेवा प्रवाहमा अवरोध नआउने गरी आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

स्वास्थ्य संस्था आइतबार बिदा नदिने स्वास्थ्य मन्त्रालयको निर्णयको चिकित्सकले विरोध गर्न थालेका छन्।

नेपाल चिकित्सक संघले हालको जनशक्ति अवस्थाले यस्तो व्यवस्था कार्यान्वयन गर्न नसकिने जनाएको छ।

जनशक्ति थप नगरिएकाले सार्वजनिक बिदाका दिन ओपीडी सेवा दिन नसकिने संघको निष्कर्ष छ।

‘अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकोमा अस्पतालहरूमा जनशक्ति नथपिएकोले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन सकिँदैन,’ संघले भनेको छ।

संघका महासचिव डा. सन्जिव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारद्वारा स्वास्थ्य संस्थामा रहेका जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त अनुरोध कार्यान्वयन गर्न नसकिने र वर्कलोडका गुणस्तरीय सेवा प्रवाहमा समस्या देखापर्ने सम्भावना रहेको छ।’

के भन्छन् चिकित्सक ?

आइतबार स्वास्थ्य संस्था सञ्चालन गनुपर्ने स्वास्थ्य मन्त्रालयको निर्णयको चिकित्सकहरूले पनि विरोध जनाएका छन्।

लामो समयदेखि चिकित्सा शिक्षा सुधारको अभियानमा लागिरहेका डा. शेषराज घिमिरे सरकारले पूर्वतयारी विना अस्पताल बन्द नगर्न निर्देशन दिनु गलत भएको बताउँछन्।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य जनशक्तिको चरम अभाव भएको समयमा सट्टा बिदा दिएर सेवा सञ्चालन गर्न दिएको निर्देशन लागू नहुने उनी बताउँछन्।

‘अस्पतालमा चिकित्सकको चरम अभाव छ। अहिले पनि ओभर टाइम काम गरिरहेका छन्। बढी समय काम गरेको बिदा कहिल्यैँ पाउँदैनन्,’ डा. घिमिरे प्रश्न गर्छन्, ‘यस्तो अवस्थामा सट्टा बिदा मिलाएर काम गर्न निर्देशक दिएर हुन्छ ? ’

सरकारले चिकित्सकको जनशक्ति थप गरेर तथा पारिश्रमिक वैज्ञानिक रुपमा बढाएर मात्र निर्णय गर्नुपर्ने उनको भनाइ थियो।

केही तयारी नभई ९ देखि ५ बजेसम्म काम गर्नु भनेर निर्देशन दिन नहुने उनी बताउँछन्।

‘चिकित्सकहरूले तोकिएको समयभन्दा बढी काम गर्छन्। त्यसको सट्टाको बिदा कहिल्यै पाउदैनन्,’ डा. घिमिरे देशभरका स्वास्थ्य संस्थाको अवस्था सुनाउँदै भन्छन्, ‘एक जना चिकित्सकको भरमा चलेका स्वास्थ्य संस्थामा कसरी सट्टा बिदा बस्छन् ? त्यस कारण सरकारले अतिरिक्त जनशक्ति जुटाएर मात्र निर्णय गर्नुपर्छ।’

आइतबार स्वास्थ्य संस्था सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले गरेको निर्णय कार्यान्वयन हुन नसक्ने उनको भनाइ छ।

आवश्यक सेवा सुविधा बढाएपछि मात्रै निर्णय लागू हुने उनी बताउँछन्। उनी यो निर्णय फिर्ता लिन मन्त्रालयलाई आग्रह गर्छन्।

‘स्वास्थ्यकर्मी मन्त्रालयको निर्देशन बमोजिम काम गर्न सक्ने अवस्थामा छैनन्,’ डा. घिमिरे भन्छन्, ‘यो निर्णय कार्यान्वयन हुँदैन। त्यसकारण तत्काल फिर्ता लिएर तयारी गरेर मात्र निर्णय दिनुपर्छ।’

स्वास्थ्य मन्त्रालयको निर्णयले स्वास्थ्य सेवा प्रवाहमा नै असर पार्ने चिकित्सक बताउँछन्। ‘हप्ताको ६ दिन आठ घण्टा कम पारिश्रमिकमा काम गर्ने भन्ने, तर जनशक्ति थप्नमा जोड नदिने।

यस्तो अवस्थामा चिकित्सकले कसरी काम गर्न सक्छन्,’ एक चिकित्सक भन्छन्, ‘चिकित्सकको लागि ९ देखि ५ बजेसम्म समय तोक्नु पनि गलत हो। चिकित्सकको काम ९ देखि ५ भन्ने नै हुँदैन।’

चिकित्सका लागि समय तोक्न नहुने उनको भनाइ छ। उनीहरू तोकिएको समयभन्दा बढी काम गरिरहेको उनी बताउँछन्। ‘

बिरामी अस्पतालमा आएमा राति जुनसुकै समयमा पनि जानुपर्छ,’ उनी प्रश्न गर्छन्, ‘शल्यक्रिया गर्दा गर्दै ५ बज्यो भने के अब छोडेर हिड्ने हो ?’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा। मगंल रावल स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई पेलेर निर्णय गरेको बताउँछन्।

यो मान्य नहुने उनको भनाइ छ। ‘अरु सबैलाई बिदा चाहिने चिकित्सकलाई मात्र नचाहिने भन्ने हुँदैन,’ डा. रावल भन्छन्, ‘सबै बन्द गरेर स्वास्थ्य संस्था चलाउनु भन्ने निर्णय चिकित्सकलाई पेलेर गरेको निर्णय हो, हामीलाई यो मान्य छैन।’

स्वास्थ्य क्षेत्रबारे जानकारीविना नै यस्तो निर्णय गरिएको उनको तर्क छ। चिकित्सकको अवस्था के छ, कसरी काम गरिरहेका छन् भन्ने अध्ययन नगरी गरिएको निर्णय हो। यसले स्वास्थ्य सेवा प्रवाहलाई नै असर गर्छ,’ उनी भन्छन्।

आइतबार काम गर्ने चिकित्सकलाई अर्को दिन सट्टा बिदा दिन पनि सम्भव नभएको उनको भनाइ छ। ‘अस्पतालमा सट्टा बिदा दिन्ने भन्ने सम्भव छैन।

बिदामा काम गरेको पैसा दिन्छु भनियो भने थप आर्थिक पर्छ। अस्पतालले पैसा दिदैन। त्यसकारण यो निर्णय र सुझाव व्यवहारिक छैन,’ उनी भन्छन्।

चिकित्सकलाई पेल्न खोजिएको उनको भननाइ छ। जहिले चिकित्सकलाई मात्रै पेल्न खोज्ने गरिएको उनी गुनासो गर्छन्।

‘हचुवाको भरमा गरिएको निर्णय हो। चिकित्सकको अवस्था के छ भन्ने मन्त्रालयलाइ थाहा छैन,’ डा। रावल भन्छन्, ‘यो निर्णय चिकित्सकलाई मान्य छैन।’

आकस्मिक सेवा २४ घण्टा नै दिने गरिएको छ। चिकित्सक अस्पतालमा २४ घण्टा उपस्थित हुन्छन्। अझ सबै क्षेत्र बन्द गरेर चिकित्सकलाई बिदा दिन्न भन्ने निर्णय गलत भएको उनको भनाइ छ।

वीर अस्पतालका चिकित्सक डा.ढुण्डी पौडेल पनि सरकारले हचुवाको भरमा आइतबार अस्पताल सञ्चालन गर्न निर्देशन दिएको बताउँछन्। ‘

यो हचुवा र विवेकहीन निर्णय हो,’ डा. पौडेल भन्छन्। उस्तै पनि कामको प्रेसरले गर्दा चिकित्सकलाई हप्तामा दुई दिन बिदा दिनुपर्ने डा. पौडेलले बताउँछन्।

Untitled
Untitled
Untitled