२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बीपीसीबाट काबेली ‘ए’ आयोजना किन्दै अरुण काबेली पावर,सवा दुई अर्ब लगानी गर्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत अरुण काबेली पावर कम्पनी लिमिटेडले काबेली इनर्जी लिमिटेडको ७१ प्रतिशत शेयर खरिद गर्ने भएको छ।

अरुण काबेलीले २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को स्वामित्वमा रहेको काबेली इनर्जीले ३७.६ मेगावाटको काबेली ए आयोजना बनाइरहेको छ।

काबेली ए आयोजना बीपीसीले स्थापना गरेको हो। पछिल्लो समय बीपीसी काबेली ए आयोजनाको सबै सेयर बेचेर बाहिरिन लागेको हो।

बीपीसीको साधारणसभाले काबेली ए आयोजना र गुराँस इनर्जी लिमिटेडको स्वामित्वमा रहेको सबै सेयर अरुण काबेली पावरलाई बिक्री गरी कम्पनीबाट बाहिरिन लागेको छ।

यसैगरी काबेली इनर्जीमा रहेको कम्पनीको सबै शेयरहरु अरुण काबेली पावरलाई बिक्री गर्ने र सो कारोबार सम्पन्न गर्न आवश्यक निर्णय गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान सभाले गरेको छ।

काबेली इनर्जीको चुक्ता पुँजी ७० करोड रूपैयाँ रहेको छ। काबेलीमा बीपीसीको १९ लाख १४ हजार ६३५ कित्ता शेयर छ।

त्यसैगरी, सहायक कम्पनी गुराँश इनर्जीको ५० लाख ८१ हजार १४७ कित्ता शेयर रहेको बीपीसीले जनाएको छ। उक्त शेयरहरु अरुण काबेलीले खरिद गर्ने भएको हो।

हालसम्म बीपीसीले काबेली इनर्जीमा ४८ करोड रूपैयाँ शेयरबापत अग्रिम भुक्तानी गरेको छ।

सो अग्रिम भुक्तानी वापतको रकम फिर्ता लिने गरी बीपीसीले काबेलीमा रहेको सबै शेयर अरुण काबेली पावरलाई बिक्री गर्ने भएको हो।

अरुण काबेली पावरले ७८ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) प्रतिबद्धताको ३६ प्रतिशत लगानी गरिसकेको छ।

आयोजनाको अनुमानित कुल लागत सात अर्ब ५२ करोड रुपैयाँ छ। ६० प्रतिशत बैंकको ऋण र बाँकी ४० प्रतिशत स्वपुँजी (इक्विटी) मिश्रण गरिएको छ।

अरुण काबेली पावरले पहिले इक्विटी रकमको ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको थियो।

पछि कम्पनीले आफ्नो इक्विटी प्रतिबद्धतालाई ७१ प्रतिशत पुर्याएको छ। इक्विटी थप भएपछि लगानी बढाएर दुई अर्ब १५ करोड रुपैयाँ पुरयाउने योजना बनाएको छ।

थप इक्विटी प्रतिबद्धताको लागि कम्पनीले १ः०५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ। परियोजनाको आवश्यकताअनुसार ब्यालेन्स इक्विटी क्रमशः थपिने भएको छ।

गत आर्थिक वर्षमा अरुण काबेलीले बिजुली बेचेर ६३ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

गत वर्ष कम्पनीले १७ करोड रुपैयाँ खुदनाफा गरेको थियो। कम्पनीको चुक्ता पुँजी तीन अर्ब ८९ करोड ५९ लाख रुपैयाँ छ।

अरुण काबेलीको प्रतिसेयर आम्दानी ४.३७ र नेटवर्थ ९९.७५ रुपैयाँ छ। कम्पनी सन् २०११ मा स्थापना भएको हो।

आयोजनबाट सन् २०१९ देखि बिजुली उत्पादन थालेको हो। अरुण काबेली पावरले तीन अर्ब ४५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।

Untitled
Untitled
Untitled