२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

किसानले भारत र चीनबाट आयातित वर्णशङ्कर जातको मकैमा रुचि राख्दा सरकारले विकास र सिफारिस गरेका बिउ ओझेलमा

Untitled
Untitled
Untitled

काठमाण्डू, तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रका किसानले भारत र चीनबाट आयातित वर्णशङ्कर जातको मकैमा रुचि राख्दा सरकारले विकास र सिफारिस गरेका मकैका बिउ भने ओझेलमा परेका छन् ।

राष्ट्रिय बिउबिजन केन्द्र रामपुरबाट नेपालकै रैथाने र हावापानी सुहाउँदा ४१ जातलाई उपयुक्त रहेको सिफारिस गरेको छ । तीमध्ये १० वटा वर्णशङ्कर र ३१ वटा उन्नत जात छन् ।

सिफारिस गरिएका जातका मकै कम्तीमा ९० दिनदेखि अधिकतम १८० दिनसम्ममा पाक्ने र तराई, पहाड र हिमाली क्षेत्रमा फल्ने फरक फरक जातका छन् ।

बिउबिजन तथा गुण नियन्त्रण केन्द्रले ११४ जातका मकै नेपालमा उपयुक्त भएको सिफारिस गरेको छ ।

तीमध्ये २०३३ सालमा सफल प्रयोग भएको रामपुर कम्पोजिटसँग अत्याधिक ताप सहन गर्न सक्ने क्षमता छ ।

अहिले नेपालमा बिउ अभाव भएको भनिएका ठाउँमा सो मकै उपयुक्त हुने राष्ट्रिय बिउबिजन केन्द्रका संयोजक तीर्थराज रिजालले जानकारी दिए ।

लामो समयको अध्ययन अनुसन्धानबाट सिफारिस भएको र समुद्री सतहदेखि पाँच हजार मिटरसम्ममा खेती हुने खालका मकैका बिउ सिफारिस गरिएको बताए ।

सरकारी र गैरसरकारी क्षेत्रबाट कृषकसम्म समयमै प्रचार हुन नसक्दा नेपाली बिउ ओझेलमा परेको पनि उनले स्पष्ट पारे ।

राष्ट्रिय बिउबिजन केन्द्रले मकैको बुवाआमा तयार पारेर कम्पनीलाई उपलब्ध गराउने र सोही आधारमा कम्पनीले उत्पादन गर्ने गरेको उनले बताए ।

तर, सममयै उत्पादन हुन नसक्नु र नेपाली कम्पनीले ठुलो मात्रामा उत्पादन गर्न नसक्दा किसान आयातित वर्णशङ्करतर्फ आकर्षित भएको हुन सक्ने उनको भनाइ छ ।

सरकारीस्तरबाट नै नेपाली बिउलाई प्रोत्साहन गर्न र कम्पनीसँग समन्वय गर्न आवश्यक हुने उनले बताए ।

तराईमा हुने रामपुर कम्पोजिट, मध्यपहाडमा देउती उच्च पहाडमा हुने गणेशलगायतका सबै बिउको राम्रोसँग प्रचार हुन नसकेको उनले उल्लेख गरे ।

नेपालमै सिफारिस भएको मकै तोकिएकै क्षेत्रमा मात्रै रोपिन्छ र शतप्रतिशत सफल पनि भएको छ ।

तर, आयातित वर्णशङ्करको मकैको बिउमा हुने गडबडीले घोगा नलाग्ने र घोगामा दान नलाग्ने समस्या देखिने गरेको छ ।

किसानले पटक पटक आन्दोलन गर्ने परेको किसान अगुवा ज्ञानेन्द्र दाहालले बताए ।

उनले अघिल्लो वर्ष ४० रोपनी बारीमा रोपेको सफल भएपछि यो वर्ष रामपुर कम्पोजिटलाई दुई सय रोपनीमा विस्तार गरिएको बताए ।

तर, धेरै किसान वर्णशङ्करमै आकर्षित भएकाले स्थानीय जातको प्रोत्साहन आवश्यक रहेको उल्लेख गरे ।

धेरै आयातित वर्णशङ्कर सात सय मिटरभन्दा कम उचाइमा फल्ने सिफारिस भए पनि एक हजार पाँच सय मिटरसम्म पनि रोपिँदै आएको छ ।

तर, त्यसबारे सरकारी र निजी क्षेत्रबाट कुनै अनुसन्धान नै सुरु गरिएको छैन ।

कृषक आफैँले त्यस्ता मकैको बिउको माग गर्ने गरेका छन् । किसानले पछिल्लो समय आकर्षक प्याकेजिङ र सर्वसुलभ भएसँगै अन्तर्राष्ट्रिय कम्पनीका वर्णशङ्करमा बिउमा ध्यान दिने गरेका हुन् ।

कृषि प्रसार अधिकृत कृष्ण धितालले सिफारिस भएका स्थानीय जातको मकैको राम्रोसँग प्रसार हुन नसक्दा विदेशी बिउले जरा गाडेको उल्लेख गरे ।

तराई, भित्री, मधेश, पहाडी र उच्च पहाडी जिल्लामा लाग्ने मकैको बिउ भएपनि त्यसबारे किसानसम्म प्रसार हुन नसक्दा नेपाली बिउले बजार लिन नसकेको उनले स्पष्ट पारे ।

वरिष्ठ कृषि प्रसार अधिकृत कुलप्रसाद दवाडीले नेपाल मकैको बिउमा आत्मनिर्भर रहे पनि किसानसम्म नेपाली बिउको प्रचार हुन नसक्दा आयातित वर्णशङ्कर बिउमा किसानको आकर्षण बढेको जानकारी दिए ।

नेपालमा उत्पादित बिउको राम्रो प्याकेजिङ छैन, जसको कारणले किसानले चम्किला आकर्षक बिउका प्याकेटमा बिउ मात्रै किन्ने गर्दा नेपाली बिउ ओझेलमा परेको उनले उल्लेख गरे ।

किसानस्तरमा बिउको महìव बुझाएर स्थानीय रोग प्रतिरोधात्मक क्षमता भएका बिउ प्रोत्साहन गर्ने कार्यक्रम सरकारले ल्याउनु आवश्यक रहेको सुझाव दिए ।

केही नेपाली कम्पनी युनिक सिड, लुम्बिनी सिड र गोरखा सिड कम्पनीले स्थानीय जातका बिउ उत्पादन गरे पनि पर्याप्त नहुँदा किसानसम्म पुग्न सकेका छैनन् ।

एकातिर नेपाली कम्पनीको उत्पादन कम हुँदा समस्या परेको छ भने विदेशी कम्पनीले बलियो मार्केटिङ पोलिसी बनाएर बजार नै कब्जा जस्तै गरेका छन् ।

वितरकलाई बिउ बेच्ने लक्ष्य दिएर हरेक वर्ष बिउ कम्पनीले वितरकलाई विदेश भ्रमणसमेत गराउने गरेका छन्, जसका कारणले वितरण स्थानीय बिउलाई प्राथमिकतामा राख्दैनन् ।

स्थानीय बिउमा नाफासमेत कम हुने भन्दै व्यापारीले त्यसलाई प्राथमिकता दिने गरेका छैनन् ।

छिटो पाक्ने नयाँ जात सिफारिसको तयारी

राष्ट्रिय बिउबिजन केन्द्रले असारसम्ममा छिटो पाक्ने जातको बिउ बिउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्रमा सिफारिस गर्ने तयारी थालेको छ ।

केन्द्रले अनुमोदन गरेर राष्ट्रिय बिउ नियन्त्रण केन्द्रमा पठाएपछि त्यहाँ अनुमोदन भएपछि व्यावसायिक उत्पादनका लागि आउने संयोजक रिजालले उल्लेख गरे ।

यस कार्यक्रममार्फत नेपालमा अहिलेसम्म उन्नत जातका लागि ३१ वटा मकैका बिउका जात सिफारिस गरिएको छ, जुन नेपाली जनताले रुचाएका छन् ।

उच्च पहाडका लागि गणेश १ र २, मध्यपहाडका लागि मनकामना १, ३, ५, ७ र ९ जात सिफारिस गरिएको छ ।

यस्तै तराईका लागि रामपुर जातका मकै सिफारिस गरिएको छ । अब सिफारिस गर्न लागिएका मकै तराई र मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने उनले दाबी गरे ।

किसानलाई चाँडो पाक्ने खालका मकै पनि सिफारिस गरिएको छ । जसमा अरुण १, २, ३, ४, ५, ६ जातका रहेका छन् ।

यी मकै लगाएको ८० देखि ९० दिनमा तयारी हुने गर्छन् । अन्य मकै १२० देखि १५० दिनसम्म लाग्ने गर्दछन् ।

कार्यालयले हाइब्रिड मकैतर्फ अहिलेसम्म १० जात सिफारिस गरेको छ । अहिले तीन जात सिफारिसको चरणमा रहेको र त्यसपछि हाइब्रिडको सङ्ख्या १३ पुग्ने छ ।

सिफारिस गर्न लागिएका जात सिएएच १५११, सिएएच ११८७, सिएएच १९ छन् ।

यी मकैमा तापक्रम सहन सक्ने क्षमता भएकाले भित्री मधेश र तराईका जिल्लाका लागि सिफारिसको काम भइरहेको रिजालले बताए ।

२०७७ सालदेखि हामीले कुनै जातको मकै सिफारिस भएको छैन । किसानले नरुचाएका आठ वटा जातलाई सूचीबाट हटाइसकिएको छ भने पाँच वटा जातलाई सूचीबाट हटाउन सिफारिसको तयारी थालिएको छ ।

चलनचल्तीमा नआएका, रोग र किराले समस्या बनाएका यस्ता जातलाई सूचीबाट हटाउन सिफारिस गरिने गरिन्छ ।

Untitled
Untitled
Untitled