२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पश्चिमी वायु सक्रिय : कोशी–बागमती–गण्डकीमा बदली, वर्षाको पूर्वानुमान

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग आसपास सक्रिय न्यून चापीय प्रणालीको संयुक्त प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।

शनिबार विभिन्न स्थानमा वर्षा गराएको यही प्रणालीको प्रभाव आइतबार पनि कायम रहने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहने सम्भावना छ ।

तराईका अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

विभागले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा गर्मीको प्रभाव बढ्न सक्ने तथा तराई भू–भागमा तातो हावाको लहर चल्ने सम्भावना औँल्याइएको छ ।

विभागले विशेषगरी गर्मी बढ्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

यसैबीच, मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि गतिविधि तथा सवारी आवागमनमा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

मौसममा भइरहेको उतारचढावका कारण आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Untitled
Untitled
Untitled