२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बजेटका लागि सरकारको डिजिटल परामर्श अभियान, सुझाव सङ्कलन पोर्टल सञ्चालन

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता बढाउने उद्देश्यसहित डिजिटल ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले यसलाई शासन प्रणालीलाई बढी पारदर्शी र जनमुखी बनाउने प्रयासका रूपमा अघि सारेको हो ।

आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताको आवश्यकता, अपेक्षा र विकास प्राथमिकतालाई समेट्ने उद्देश्यले यो अनलाइन प्लेटफर्म शुरु गरिएको हो ।

यसमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विज्ञ तथा सरोकारवालाले बजेट र विकाससम्बन्धी सुझाव सिधै सरकारलाई दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार नीतिनिर्माणलाई केवल प्रशासनिक तहमा सीमित नराखी जनताको अनुभव र विशेषज्ञताको आधारमा समावेशी बनाउने प्रधानमन्त्रीको लक्ष्यअनुसार यो पहल गरिएको हो ।

उनका अनुसार प्राप्त सुझावलाई विश्लेषण गरी नीतिगत निर्णयमा समेटिनेछ ।

पोर्टलमा नागरिकले दिएका सुझावको अवस्था ट्रयाक गर्न सकिने सुविधा पनि राखिएको छ, जसले सुझावको कार्यान्वयन प्रक्रिया अनुगमन गर्न सहयोग गर्नेछ ।

सरकारले यस डिजिटल प्रणालीलाई सुशासन र नागरिक–राज्य सम्बन्धलाई मजबुत बनाउने माध्यमका रूपमा विकास गर्ने जनाएको छ ।

सरकारले सबै नेपालीलाई यो प्लेटफर्ममा सक्रिय सहभागिता जनाउँदै ‘समृद्ध नेपाल’ निर्माणमा योगदान दिन आग्रह गरेको छ ।

नागरिकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टल प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

Untitled
Untitled
Untitled