२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आजदेखि बागमती किनारका सुकुमबासी बस्ती खाली गरिँदै

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण अभियान शुरु गर्ने भएको छ ।

शहरी विकासमन्त्री सुनील लम्सालका अनुसार पहिलो चरणमा थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले अब दोस्रो चरणको काम अघि बढाउन लागिएको हो ।

बस्ती स्थानान्तरणलाई व्यवस्थित बनाउन बिहीबार शहरी विकास मन्त्रालयमा विभिन्न सरकारी निकायको संयुक्त बैठक बसेको थियो ।

बैठकले आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा ल्याइनेछ ।

त्यहाँ सूचना तथा तथ्यांक संकलन, सुकुमबासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा गृह मन्त्रालयको टोलीमार्फत डिजिटल तथ्यांक संकलनका लागि तीनवटा सहायता कक्ष सञ्चालन गरिनेछन् ।

होल्डिङ सेन्टरमा लैजान नसकिने दराज, खाट, टेबुललगायतका सरसामानको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकाय परिचालन गरिने मन्त्रालयले जनाएको छ ।

आश्रयस्थल नभएका वा आफैँ व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन बसको व्यवस्था पनि गरिएको छ ।

सरकारले प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवा उपलब्ध गराउने जनाएको छ ।

संकलित विवरणका आधारमा सुकुमबासीको पहिचान तथा प्रमाणीकरण गरिनेछ ।

पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइने मन्त्रालयले स्पष्ट पारेको छ ।

पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग उपलब्ध गराइने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने जनाइएको छ ।

साथै नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गरेका तथा गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिमाथि छानबिन गरी दोषी ठहरिए कानूनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै नदी किनार, सरकारी, पर्ती, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा खाली गर्न आग्रह गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार उच्च जोखिममा रहेका ती बस्ती खाली गर्ने कार्य शुक्रबार बिहान ७ बजेदेखि शुरु हुनेछ ।

Untitled
Untitled
Untitled