२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आधारभूत सेवाकै अभावमा होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी

Untitled
Untitled
Untitled

काठमाण्डू, त्रिभुवन विश्वविद्यालयको मूल गेटको ठीक अर्कोतर्फ बुल्खु-मकवानपुर सडकखण्डको छेउमा राधास्वामी सत्संगको भवन छ। भवन ठूलो छ।

तर, खुल्ला छ। पर्खाल छैन। जस्ताले छाएर घामपानी रोक्ने बनाइएको छ।

मंगलबार दिउँसोको करिब ३ बजे। भवन भित्र(बाहिर मानिसहरूको चहलपहल छ। भवनभित्र ठाउँ(ठाउँमा झुल टाँगिएको छ। त्यही झुलभित्र कोही सुतिरहेको देखिन्छ।

बच्चाहरूलाई भुलाउन केही खेलहरू खेलाइरहेको देखिन्छ। कोही आफू(आफू गफमा रहेको देखिन्छ।

भवन बाहिर पनि उस्तै छ। बस्नका लागि सफा ठाउँ छ। दुबो रोपी हरियाली बनाइएको चौरमा समूह(समूहमा गफिरहेको देखिन्छ।

त्यस्तै गफमा थिइन्– ६५ वर्षीया पुष्पा कसाई। हातमा दुधको चिया लिएर बसेकी उनी थापाथली सुकुम्बासी बस्तीमा बस्दै आएकी थिइन्।

शनिबार बस्तीमा डोजर चलेपछि उनी शरण खोज्दै सत्संग पुगेकी हुन्।

उनले आफू प्रेसर र छातीको बिरामी रहेको बताइन्। नियमित औषिधि खानुपर्ने तर शनिबारदेखि उनले औषधि खान पाइनन्।

शनिबार बस्तीमा डोजर चलेपछि उनका औषधि, औषधिका पर्चाहरू त्यहीँ पुरिए।

आफूलाई औषधि दिन उनले त्यहाँ पुगेपछि भन्ने थालेकी हुन्। तर, औषधि पाइनन्। पछि आफ्नै शंखमुल पुगेर औषधि लिइन्।

आफूले लिएर खाँदै गरेको औषधि देखाउँदै उनले भनिन्, ‘औषधि नखाइ हुँदैन। प्रेसरको, छातीको बिरामी छु।

यहाँ दिँदैनन्। चेक गर्नुपर्छ भने। पछि म आफै गएर औषधि लिएर आएँ।’

उनी औषधि खाने तयारीमा थिइन्। देशसञ्चारसँग भेटेको केही समयमै सत्संगको अनुगमनमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल पुगिन।

उनलाई पनि कसाईले औषधि नपाएको गुनासो गरिन। उनले डंगोलसँग थप आँखाको समस्या पनि रहेको गुनासो गरिन।

डंगोलले सहयोगीलाई गुनासो टिप्प निर्देशन दिइन्। औषधि ल्याइदिने आश्वसन दिइन।

अनुगमनकै क्रममा डंगोललाई अर्का युवाले त्यस्तै औषधि नपाएको गुनासो गरे– हात देखाउँदै। उनी ज्यामी काम गर्छन। त्यसैक्रममा उनको देब्रे हातको बुढी औँलामा चोट लागेको थियो।

औंलाबाट नङ झर्ने अवस्थामा पुगेको छ। तर, उनले उपचार नपाएको कार्यवाहक मेयरसँग गुनासो गरे।

लगत्तै डंगोलले स्वास्थ्य टीमलाई फोन लगाइन्। नाम टिपाइन्। औषधिको व्यवस्था गर्न निर्देश गरिन।

सहरी विकास मन्त्रालयका अनुसार सत्संग भवनमा थापाथली र गैरीगाउँका ३३ परिवारका १४७ जनाले आश्रय लिइरहेका छन्।

तर, यहाँ आधारभूत सेवासमेत सहज रुपमा नपाएको पाइएको छ।

यतिसम्म कि उनीहरूलाई सत्संगमा राखिएको चार दिन हुँदा पनि बाथरुमका लागि सहज छैन।

केहीले त्यसको गुनासो गरेपछि डंगोलले व्यवस्थापन गर्न निर्देश गरिन।

दुधे बच्चाहरूलाई लिटो खुवाउनुपर्छ। सुत्केरीलाई पोसिला खाने कुरा खुवाउनुपर्छ। ती कुनै पनि नपाएको डंगोलसँग गुनासा गरिएको थियो।

लिटो पकाएर खुवाउनका लागि ग्यासको व्यवस्था नभएको गुनासो त्यहाँ बसिरहेकाहरूको थियो।

सत्संगमा बसिरहेकामध्ये एक जना कक्षा १२ को परीक्षा दिने पनि रहेकी छन्। उनी हुन्, गीर्वाणिका थापा।

तर, उनलाई अन्यसँगै हल्ला हुने ठाउँमा राखिएपछि पढ्न पाएकी छैनन्। परीक्षाको तयारीका लागि अनलाइन कक्षा लिनुपर्ने तर नेट अभावमा त्यो पनि लिन पाएकी छैनन्।

लाइटको अभाव पनि रहेको छ। परीक्षाका लागि तयारीका लागि पुस्तकहरू बस्तीमा पुरिए।

उनले परीक्षा तयारी पुस्तक ल्याइदिन डंगोलसँग आग्रह गरिन्। उनको आग्रहपछि डंगोलले मोबाइलनमा रिचार्ज गरिदिने र लाइट, तयारी पुस्तक व्यवस्था गरिदिने आश्वासन दिइन्।

डंगोलसँग त्यहाँ गुनासो त गरेनन्। तर, सुत्नका लागि झुलको अभाव रहेको केहीले बताए। ‘रातभर मच्छरले खान्छ।

पर्याप्त झुल छैन’, डम्बर तामाङले भने। त्यहाँ एक परिवारका लागि एउटा झुल व्यवस्था गरिएको छ।

दुई ठाउँमा छुट्टाछुट्टै सुत्नुपर्ने परिवारले भने झुलको अभाव झेलेका छन्।

अर्को ठूलो समस्या बालबालिकाको पढाइ मंगलबारदेखि शुरु भएको छ।

अभिभावक बच्चाको पढाइ छुटेकोमा चिन्तित बनेका छन्। डंगोलसँग अभिभावकले बच्चाहरूको पढाइ छुटेको गुनासो गरेका थिए।

कहिलेदेखि पढ्न पाउने हुन् भन्नेमा डंगोलले कुनै ठोस जवाफ दिइनन्।

Untitled
Untitled
Untitled