२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा, नयाँ सरकार गठन भएपछिको पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण

Untitled
Untitled
Untitled

काठमाण्डू, अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर नेपाल आइपुगेका छन्।

उनी आजै बिहान काठमाडौँ आइपुगेका हुन्। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो।

उनको आज परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ। त्यसबाहेकका भेटघाटबारे खुलाइएको छैन।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायतसँगको उच्चस्तरीय भेटघाटको भने अहिलेसम्म टुङ्गो नलागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट रहेका कपुरले दक्षिण तथा मध्य एसिया मामिला हेर्ने गर्छन्।

राष्ट्रपति ट्रम्पले तात्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए।

उनी नियुक्त भएपछि भारतीय मूलका भनी निकै चर्चा भएको थियो। उनको जन्म भारतमा भएको हो। उनका बुबा भारतीय र आमा भने अमेरिकी मूलकी हुन्।

अहिलेको सरकार गठनमा अमेरिकाको विशेष प्रभाव रहेको टिप्पणी भइरहेका बेला सहायक विदेशमन्त्री कपुरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा मामिला विभागका प्राध्यापकसमेत रहिसकेका कपुरले राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम वर्ष सन् २०२०–२१ सम्म विदेश विभागको नीति योजना टोलीमा पनि काम गरेका थिए।

त्यहाँ उनलाई दक्षिण एसियाली मामिला हेर्ने जिम्मेवारी दिइएको थियो।

अमेरिकी नावल पोस्ट ग्राजुएट स्कुलका प्राध्यापकसमेत रहिसकेका कपुरलाई पाकिस्तानका कट्टर आलोचकका रूपमा विश्लेषण गरिन्थ्यो।

तर, पछिल्लो समय इरान र अमेरिकाबिच वार्ता गराउन पाकिस्तानले गरेको मध्यस्थतामा सहायक विदेशमन्त्री कपुरको भूमिकाको पनि चर्चा हुने गरेको छ।

विदेश विभागको कर्मचारी रहेकै समयदेखि उनी दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञ मानिन्छन्।

उनले विशेषगरी भारत–पाकिस्तान सम्बन्ध, आतङ्कवाद र क्षेत्रीय सुरक्षाका विषयमा अनुसन्धानहरू गरेका छन्।

दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बिच वर्तमान अवस्थामा नेपालको परराष्ट्र नीति चर्चामा आइरहेको छ।

बालेन नेतृत्वको सरकारले कूटनीतिक क्षेत्रमा चालेका कदमहरूले पनि चर्चा पाएका छन्।

Untitled
Untitled
Untitled