२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

संसदीय दलको नेता छान्ने कांग्रेस बैठक अनिर्णित, आइतबार पुनः बस्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयनको विषय पेचिलो बनेको छ । अन्य दलहरुले दलको नेता छानिसक्दा कांग्रेसले अझैसम्म दलको नेता छान्न नसकेको हो ।

संसदीय दलको नेताको विषयमा छलफल गर्न आज सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।

तर, बैठक बिना निष्कर्ष टुंगिएको कांग्रेस सांसद निश्कल राईले लोकपथलाई जानकारी दिए ।

आजको बैठकमा सबै सांसदहरुको धारणा लिने काम भएको र उपस्थित सांसदहरुले आ–आफ्नो धारणा राखेको सांसद राईले बताए ।

‘आजको बैठकमा सबै माननीयहरुको धारणा लिने काम भयो । सबैले आफ्नो धारणासहित राय सल्लाहसहित पार्टीलाई कसरी एक ढिक्का बनाएर लैजाने भन्ने विषयमा छलफल भयो,’ उनले भने ।

बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य समेत रहेका कांग्रेस सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेता छनोटमा मापदण्ड बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

यसअघि नै उनले मापदण्डका आधारमा दलको नेता छान्नुपर्ने अडानलाई आजको बैठकमा समेत राखेका हुन् ।

‘दलको नेता छनोटका लागि एउटा मापदण्ड बनाएर जाऔँ । त्यसका लागि सबैको सर्वसम्मपति हुन्छ भने सबैभन्दा कान्छो सांसदलाई बनाउँदा पनि भयो ।

तर, त्यसले पार्टीमा विभाजन ल्याउन भएन,’ उनले बैठकमा भनेका थिए । आज सर्वसम्मत निर्णय हुन नसकेपछि आइतबारका लागि पुनः बैठक बोलाइएको छ ।

आइतबारको बैठकमा नेता छान्ने गरी तयारी गर्न भनिएको छ ।

Untitled
Untitled
Untitled