२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुदूरमा विसु मनाउन भारतबाट फर्किनेहरूको लर्को, सीमामा पुरानै सकस

Untitled
Untitled
Untitled

कञ्चनपुर, बझाङका दिलबहादुर सिंह एक वर्षपछि भारतको अल्मोडाबाट गाउँकै केही युवाहरुसँगै घर फर्किएका छन् ।

दशैँ–तिहार समेत भारतमै मनाएका उनी यस पटकको विसु भने गाउँमै सपरिवार मनाउन चाहन्छन् । ‘

पहिल्यैदेखि हामीले विसु परिवारसँगै मनाउने गरेका छौं, त्यसैले यस पटक पनि आयौँ,’ गड्डाचौकी नाकामा भेटिएका उनले भने, ‘हामीले काम गरिरहेको क्षेत्रबाट सैयौं नेपालीहरू विसु मनाउन घर फर्किरहेका छन् ।’

बैतडी पाटनका रमेश विष्ट पनि नयाँ दिल्लीबाट विसु मनाउन घर फर्किएको बताउँछन् ।

वर्षौंदेखि मौलिक ढंगले गाउँमै पुगेर यो पर्व मनाउँदै आएका उनी यसपटक पनि परिवार भेट्ने र चाड मनाउने उद्देश्यले घर फर्किएका हुन् ।

‘दशैँमा पनि घर गएको थिएँ, अहिले पनि जान मन लाग्यो,’ उनले भने, ‘परिवार भेट हुने र पर्व पनि मनाइने भएपछि सात महिनामै घर फर्किएको हुँ ।’

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वैशाख १ गते मनाइने विसु पर्वका लागि यतिबेला कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक हजारौं नेपालीहरू घर फर्किरहेका छन् ।

रोजगारी, अध्ययन तथा अन्य कामका लागि घरबाहिर रहेका नागरिकहरू गाउँ फर्किन थालेपछि सीमा क्षेत्रमा चाप बढेको छ ।

कोही वर्षदिन नपुग्दै त कोही वर्षौंपछि नेपाल फर्किँदा पनि सीमामा पुरानै झन्झटले उनीहरूलाई सकस दिने गरेको छ ।

हालसम्म पनि पुरानै ढंगले चेकजाँच हुने, अनावश्यक झन्झट दिइने र नेपाल प्रवेश सहज नहुने गरेको उनीहरूको गुनासो छ ।

‘म २० वर्षदेखि यही नाकाबाट आउजाउ गरिरहेको छु,’ डोटीका पूर्वबहादुर जोशीले भने, ‘पहिलेभन्दा अझै झन्झटिलो भएको छ । लामो हिँड्नुपर्छ, घण्टौं कुर्नुपर्छ ।’

विसु मनाउन भारतबाट फर्किने क्रम बढेसँगै पहाडी गाउँहरूमा पनि रौनक बढ्न थालेको छ ।

घरहरू लिपपोत गर्ने, आँगन सफा गर्ने र नयाँ परिकार बनाउने तयारी तीव्र बनेको छ । सुख, शान्ति र समृद्धिको कामना गर्दै सपरिवार विसु मनाउन आतुर भएकाहरू घर पुग्न हतारिएका छन् ।

भारतमा मजदुरी गर्दै आएका अछामका भीमबहादुर थापाले दुई वर्षपछि विसु मनाउन घर फर्किएको बताए ।

‘दुई वर्षपछि घर फर्किँदै छु,’ उनले भने, ‘हामी विसुलाई निकै महत्वका साथ मान्ने गर्छौं ।’

विसु पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लामा देउडा खेल्ने, गीत गाउने र एकआपसमा सिस्नु लगाएर रमाइलो गर्ने परम्परा छ ।

यसले समुदायबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

एकअर्कालाई सिस्नुले छोएर रमाइलो गर्दै पुराना तीता र नमिठा क्षणहरू बिर्सने र नयाँ, सुमधुर सम्बन्ध बनाउने विश्वास छ ।

पछिल्लो समय तराईका जिल्लाहरूमा पनि सिस्नुले हानेर विसु मनाउने परम्परा विस्तार हुँदै गएको छ ।

Untitled
Untitled
Untitled